म्याग्दी, १ वैशाख । म्याग्दीको दोस्रो व्यापारिक केन्द्र दरवाङमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार गरिएको छ ।
उपभोक्ता, जिल्ला विकास समिति, विद्युत् प्राधिकरण, गाविस कार्यालयको सहयोग तथा ऋण गरी कुल रु ७२ लाख ३८ हजार ४७० को लागतमा उक्त विद्युतीकरण योजना सम्पन्न भएको हो ।
केन्द्रीय प्रसारण लाइनको विद्युतीकरणबाट दरवाङ गाविसको वडा १ र २ को साथै देवीस्थान गाविस–९ थापाचौर र रानीवासका २४७ घरमा बिजुली सुविधा पुगेको विद्युतीकरण उपभोक्ता समितिका अध्यक्ष वीरबहादुर कार्कीले जानकारी दिनुभयो ।
विद्युतीकरणका लागि उपभोक्ताको रु २६ लाख ७८ हजार ९९१, जिविसको गत आवको रु १५ लाख, विद्युत् प्राधिकरणको गत वर्षको रु दुई लाख ८० हजार बराबरको सामग्री सहयोग, दरवाङ गाविसको रु दुई लाख, देवीस्थानको रु ५० हजार र विविध आम्दानी रु छ हजार तथा रु आठ लाख ऋण खर्च भएको कार्कीले बताउनुभयो ।
जिविसले चालु आवमा विनियोजन गरेको रु २० लाख र विद्युत् प्राधिकरणले विनियोजन गरेको रु १० लाख प्राप्त हुन बाँकी रहेको उपभोक्ता समितिका सचिव मोतिराज गौतमले जानकारी दिनुभयो ।
बयानब्बे वर्षीय पदमपाणि सापकोटा, सभासद्द्वय नवराज शर्मा र रेशमबहादुर बानियाँले बत्ती बालेर उक्त योजनाको उद्घाटन गर्नुभएको छ ।
प्रतिक्रिया