काठमाडौँ उपत्यका आजदेखि प्लास्टिक झोलामुक्त

इनेप्लिज २०७२ वैशाख १ गते ८:२६ मा प्रकाशित

Ban-Plastic-300x180काठमाडौँ, १ वैशाख । सरकारले काठमाडौँ उपत्यकालाई आजदेखि प्लास्टिक झोलामुक्त घोषणा गरेको छ ।

विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयले आज यहाँ आयोजना गरेको प्रतिबद्धता सभामा सरकारका प्रतिनिधि तथा सरोकारवालाले प्लास्टिकजन्य झोलाको प्रयोग मानव स्वास्थ्य तथा वातावरणका लागि उपयुक्त नरहेकाले अब प्रयोग नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उक्त कार्यक्रममा उपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले स्वच्छ वातावरणमा बाँच्न पाउने सबै नागरिकको अधिकार भएकोमा जोड दिँदै सरकारले प्लास्टिक झोलाको प्रयोग तथा उत्पादनमा अहिले काठमाडौँ उपत्यकामा र केही समयपछि उपत्यका बाहिर पनि प्रतिबन्ध लगाउँदै जाने बताउनुभयो ।

नेकपा (एमाले) का उपमहासचिव विष्णु पौडेल, व्यवस्थापिका– संसद्अन्तर्गत विकास समितिका सभापति रवीन्द्र अधिकारी, कृषि समितिका सभापति गगन थापा, वातावरण समितिका सभापति जनकराज चौधरी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गोविन्दराज पोखरेललगायतले सो अभियानलाई सफल बनाउने प्रतिबद्धता व्यक्त गर्दै काठमाडौँ उपत्यकालाई स्वच्छ, सफा र प्रदूषणमुक्त बनाउन त्यसको कार्यान्वयनमा जोड दिनुभयो ।

वातावरण मन्त्रालयका सचिव डा कृष्णचन्द्र पौडेल र काठमाडौँ महानगरपालिकाका प्रमुख पूर्णभक्त तण्डुकारले सरकारले गरेको सो घोषणालाई लागू गर्ने प्रतिबद्धता व्यक्त गर्दै अब सबैले प्लास्टिकको विकल्प खोज्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

यसअघि स्थानीय भृकुटीमण्डपदेखि प्रभातफेरी निकाली सहरको विभिन्न स्थानमा प्लास्टिकजन्य झोला तथा सामग्रीको प्रयोगविरुद्ध जनचेतना फैलाइएको थियो ।

प्रतिक्रिया