विदेशमा मृत्यु भएको एक महिनापछि शव आउँदा

इनेप्लिज २०७२ वैशाख १ गते ८:१९ मा प्रकाशित

death_20141022044736गौशाला, १ वैशाख । महोत्तरी जिल्लाको एक युवक विदेशिएको दुई महिनामै मृत्यु भएको छ भने मृत्यु भएको एक महिनापछि उनको शव गाउँमा आएको छ ।

जिल्लाको कोल्हुवा बगेया गाविस–८ बस्ने रामकिशोर मण्डलका छोरा २२ वर्षीय राकेश मण्डल ‘मलेसिया’ गएको दुई महिनामै उनको मृत्यु भएको हो भने मृत्यु भएको एक महिनापछि आज बिहान उनको शव घरमा आएको निजका बुबाले बताउनु भएको छ ।

विसं २०७१ माघ १ गतेका दिन काठमाडौँको गौशालामा अवस्थित मिथिला मेनपावरमार्फत मण्डल मलेसिया गएका थिए भने चैत १ गते उनको मृत्यु भएको थियो ।

मेनपावर सञ्चालक महोत्तरीकै परिकौली फुल्हट्टा गाविसका नवल सिंह र पवन सिंहका एजेन्ट कोल्हुवा बगेया– ८ बस्ने मुकेश पाण्डेले रु एक लाख ७५ हजार लिएर राम्रो, सजिलो र धेरै पैसा कमाउने काम पाउने भन्दै मण्डललाई मलेसिया पठाएका थिए ।

तर मलेसियामा पुग्ने बित्तिकै युवक मण्डललाई घनघोर जङ्गलमा लगिएको, कुनै काम नदिएको, खान बस्न नदिएको, पानीको सुविधा नभएको र मोबाइलमा समेत घर परिवारसँग कुरा गर्न नदिएको उनकी १९ वर्षीया पत्नी कामनी देवीले भक्कानिँदै सुनाएकी छिन् ।

करिब एक महिनापछि छिमेकी गाविस बलबाका एक साथीले जङ्गलमा हिँडडुल गरेको र मागी खाने गरेको देखेर युवक मण्डलको घरमा लुकेर फोन गराइदिएपछि युवक मण्डलकी सासू जिल्लाको बनौली गाउँ बस्ने जीवछी देवीले गाउँमा रु ५० हजार कर्जा लिएर पुनः एजेन्टलाई दिएर मेरा ज्वाइँलाई मगाइदिनुस् भनेकी थिइन् ।

तर एजेन्ट पाण्डेले त्यो रु ५० हजार पनि खाइदिए तर उनका ज्वाइँलाई ल्याइदिएनन् र आखिर चैत ३ गते युवक मण्डलको ससुराली बनौलीमा उनी मरेको खबर आएको उनकी सासू जीवछीले बताएकी छिन् ।

तीन वर्षअघि मात्रै छोरीको विवाह गरेकी सासूले ज्वाइँ, छोरी र एक वर्षीय नातिको सुन्दर भविष्यका लागि ज्वाइँ राकेशलाई कर्जा ऋण गरेर विदेश पठाएकी थिइन् भने उनको सपना बीचबाटोमै लुटिएको सासू जीवछीले रुँदै सुनाएकी छिन् ।

त्यस्तै, बुढा बाबुको सहारा रहेका छोरा राकेशको मृत्युपछि मण्डल परिवार ध्वस्त भएझँै भएको छ । युवक मण्डल विदेशिएको दुई महिनामै उनको शव बाकसमा बन्द भएर आएपछि शव हेर्न गाउँलेको भीड लागेको छ भने सबैले पीडित परिवारको अवस्था देखेर आँसु झारेका छन् ।

यता विदेश पठाउने एजेन्ट मुकेश पाण्डे गाउँ छाडी भागेका छन् भने मेनपावर सञ्चालन गर्दै आएका नवल सिंह र पवन सिंह पनि सम्पर्कमा आउन नसकेको पीडित परिवारले बताएका छन् ।

प्रतिक्रिया