मच्छेगाउँ–चम्पादेवी नयाँ पदमार्ग सुरु

इनेप्लिज २०७२ वैशाख १ गते ७:५९ मा प्रकाशित

काठमाडौँ, १ वैशाख । चम्पादेवी क्षेत्रको पर्यटकीय विकासमा सहयोग पुर्‍याउने उद्देश्यले आजदेखि मच्छेगाउँ–चम्पादेवी नयाँ पदमार्गको शुभारम्भ भएको छ ।

पछिल्ला समयमा चम्पादेवी क्षेत्र पदयात्राका लागि महत्वपूर्ण गन्तव्यका रुपमा विकास हुँदै गएकामा कीर्तिपुर क्षेत्र पर्यटन विकास समाज र चम्पादेवी क्षेत्र सुधार तथा व्यवस्थापन संस्थाको सक्रियतामा नयाँ पद मार्ग सुरु गरिएको छ ।

चम्पादेवीमा प्रत्येक वर्ष वैशाख १ गते लाग्ने मेलाको अवसर पारेर नयाँ पदमार्गको सुरुवात गरिएको चम्पादेवी क्षेत्र सुधार तथा व्यवस्थापन संस्थाका अध्यक्ष जनक तामाङले बताउनुभयो ।

काठमाडौँ दक्षिणभेगस्थित दुई हजार २५० मिटर अग्लो चम्पादेवी क्षेत्रमा पदयात्राका लागि काठमाडौँको फर्पिङ, कीर्तिपुरको पुष्पलालपार्क, चाल्नाखेलको वोसनबाट पदमार्ग यसअघि नै सञ्चालनमा आइसकेका छन् ।

पदमार्गको शुभारम्भ गर्दै सभासद् राजन केसीले प्रचुर पर्यटकीय सम्भावनायुक्त चम्पादेवी प्रचारप्रसारको अभावमा ओझेलमा परेको बताउनुभयो ।

स्वदेशी तथा विदेशी पर्यटकका लागि पदयात्रा, दृश्यावलोकन तथा प्राकृतिक सौन्दर्यको अनुभूत गर्न उक्त क्षेत्रको विकासमा सबैको सहयोग आवश्यक भएको उहाँले बताउनुभयो ।

चम्पादेवीमा मेला भर्न आज बिहानैदेखि त्यसतर्फ जानेको घुइँचो लागेको छ । नयाँ वर्षका दिन चम्पादेवीको दर्शन गरेमा मनोकामना पूरा हुने जनविश्वा छ ।

चम्पादेवी मन्दिर निर्माणको शिलान्यास पनि आजै भएको छ । पुरातत्व विभागको सहयोगमा रु ४८ लाखको लागतमा गुम्बज शैलीको मन्दिर निर्माण गरिने अध्यक्ष तामाङले बताउनुभयो ।

प्रतिक्रिया