ठगी गर्ने कम्पनीविरुद्ध कारबाहीको माग

इनेप्लिज २०७१ चैत २९ गते १२:२७ मा प्रकाशित

काठमाडौँ, २९ चैत । नेपाल वैदेशिक रोजगार प्रतिनिधि एजेन्ट एसोसिएसनले वैदेशिक रोजगारीका लागि विदेश जाने कामदारलाई ठगी गर्ने वैदेशिक रोजगार कम्पनीविरुद्ध कारबाहीको माग गरेको छ ।

मलेसिया तथा खाडी मुलुक जान चाहने कामदारसँग सरकारले तोकेभन्दा तीन गुणा बढी रकम लिने तथा सम्झौताअनुसारको काम नदिने त्यस्ता कम्पनीको अनुमति पनि खारेज गर्न आग्रह गरेको हो ।

एसोसिएसनका अध्यक्ष खड्गबहादुर श्रेष्ठले आज यहाँ पत्रकार सम्मेलन गरेर संस्थागत बेइमानी बढ्दै जाँदा कामदार तथा प्रतिनिधि एजेन्ट दुवैले दुःख पाउने यथार्थ औँल्याउँदै कानुन कार्यान्वयन गर्ने निकाय बढी संवेदनशील हुनुपर्ने माग गर्नुभयो ।

उहाँले एजेन्ट एसोसिएसनले कामदार र मेनपावर कम्पनीबीच सम्पर्क स्थापित गराउन मात्र भूमिका खेल्ने भन्दै कामदारलाई श्रम स्वीकृतिदेखि गन्तव्य मुलुकसम्म पुर्‍याई तोकेको दाम तथा काम उपलब्ध गराउनेलगायतमा मेनपावर कम्पनी जिम्मेवार हुनुपर्ने औँल्याउनुभयो ।

पछिल्लो समय मलेसिया तथा कतारलगायतका मुलुकमा रोजगारदाता कम्पनीले नेपाली कामदारका लागि निःशुल्क प्रवेशाज्ञा उपलब्ध गराउँदा पनि कामदार ठगिएको खवर सार्वजनिक भएपछि एसोसिएसनले कामदार ठगिने अवस्थालाई अन्त्य गर्न बैंकिग प्रणालीबाट कारोबार गर्न सुझाएको छ ।

मलेसिया तथा कतारलगायत खाडीमुलुकमा अहिले करिब २२ लाख नेपाली कामदार रहेको एसोसिएसनले जनाएको छ ।

प्रतिक्रिया