मंगलबार, मंसिर ९ २०७७
काठमाडौं ०८:५०
वासिङटन डिसी 22:05

सम्भव छ, नेपालमा ‘एन्टी स्नेक भेनम’ उत्पादन

इनेप्लिज २०७१ चैत २९ गते ११:३८ मा प्रकाशित

snakeकाठमाडौँ, २९ चैत । गाउँघरमा अझै पनि सर्पले टोकेमा जडीबुटी दल्ने, टोकेको भागमा पोल्ने तथा ब्लेडले चिरेर रगत निकाल्ने, डोरीले बाँध्ने वा धामी झाँक्रीकोमा जानेजस्ता परम्परागत र अवैज्ञानिक उपचार विधि अपनाइन्छ ।

पछिल्ला दसकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागले इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा सर्पदंशलाई जनस्वास्थ्य समस्याका रुपमा लिई बचाउ तथा रोकथाममा लागि वैज्ञानिक विधि कार्यान्वयनमा ल्याई चेतना फैलाउने काम गरिरहेको छ ।

मन्त्रालयले सर्पले टोकेको भागबाट शरीरका अन्य भागमा विष फैलन नदिन ‘प्रेसर बैण्डेज’ गरी स्थिर बनाउने (इमोबिलाइजेसन) प्राथमिक उपचार गरेर तत्काल प्रतिविष (एन्टी स्नेक भेनम सिरम) भएको जनस्वास्थ्य कार्यालय वा अस्पतालमा दक्ष चिकित्सकबाट उपचार गराउने नीति लिएकोे छ ।

हालसम्म विदेश (भारत वा विश्व स्वास्थ्य सङ्गठन) बाट प्रतिविष ल्याइने गरेकाले यसको सहज उपलब्धता नहुने गरेको गुनासो आइरहेका बेला नेपालमै त्यसको उत्पादनका लागि सरकारी र गैरसरकारी प्रयास हुनुपर्नेमा प्राणीशास्त्री तथा सर्प संरक्षककर्ताले जोड दिएका छन् । हाल नेपालमा गोमन, करेतलगायत विभिन्न ९९ प्रजातिका सर्प पाइन्छन् ।

‘झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान’ ले ‘नेपालमा एन्टी स्नेक भेनम उत्पादन’ सम्बन्धी अध्ययन र बहस प्रारम्भ गरेको छ । प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘नेपालमा एन्टी स्नेक भेनम उत्पादन’ सम्बन्धी कार्यशालामा सर्पदंशका जानकारले त्यसको उत्पादन नेपालमा सम्भव भएको र तत्काल काम थालेमा आगामी पाँच वर्षभित्रमा मुलुकका स्वास्थ्य केन्द्रमा पु¥याउन सकिने बताए ।

विश्वमा वर्सेनि करिव ५० लाखभन्दा बढीलाई सर्पले टोक्ने गरेको पाइएको छ । नेपालका कतिपय अञ्चल अस्पतालमा पनि विदेशबाट ल्याएका प्रतिविष नपाइने तथा चेतनाको अभावमा गलत घरेलु उपचार पद्धति अपनाउँदा हरेक वर्ष झन्डै पाँच हजार बढीको ज्यान जाने गरेको छ

सबै सर्प विषालु हुँदैनन् र तिनले डसेमा मानिसको मृत्यु नहुन पनि सक्छ तर विषयको लक्षण देखा नपरे पनि २४ घण्टासम्म चिकित्सकले निगरानीमा राख्नुपर्ने हुन्छ । विषालु सर्पको टोकाइबाट मृत्यु हुनेमा अधिकांश १० वर्ष भन्दा कम उमेरका बालबालिका छन् ।

भरतपुर अस्पतालका चिकित्सक डा छविलाल थापाले सर्पले टोकेपछि टोक्ने सर्पलाई मार्ने प्रवृत्ति पनि कायम रहेको सन्दर्भमा नेपालमा एन्टी स्नेक भेनम बन्न सकेमा सर्पको संरक्षणमा पनि सहयोग पुग्ने बताउनुभयो ।

त्रिभुवन विश्वविद्यालय केन्द्रीय प्राणी शास्त्र विभागका अध्यापक कमल देवकोटाले वर्षा याममा मुख्यतया तराईका २६ जिल्ला सर्प डसाइको उच्च जोखिममा रहेका र समयमा उचित उपचार नपाउँदा ज्यान जाने गरेको बताउँदै एन्टी स्नेक भेनम नेपालमा उत्पादन हुनु अत्यावश्यक भएको बताउनुभयो ।

सर्प उद्धारकर्ता सुनिल सापकोटाले सर्पको संरक्षण कुन मन्त्रालयले गर्ने भन्नेबारेमा पनि सरकारी निकायबीच अन्योल देखिएको समयमा प्रतिष्ठानको कार्यशालाले यसमा स्पष्टता ल्याउने विश्वास व्यक्त गर्दै एन्टी स्नेक भेनम उत्पादनमा सार्वजनिक– निजी साझेदारीको नीति अवलम्बन गर्न सकिने बताउनुभयो । सुरुमा ‘स्नेक किलर’ का रुपमा चिनिएका सापकोटाले हालसम्म व्यक्तिगत प्रयासमा कुल १६९ घरबाट सर्पको उद्धार गरिसक्नुभएको छ ।

प्राणीशास्त्री र सर्पसम्बन्धी जानकार व्यक्तिका अवधारणा प्रस्तुतिका क्रममा प्रतिष्ठानका प्रमुख संरक्षक तथा नेकपा (एमाले) का बरिष्ठ नेत झलनाथ खनालले उहाँहरुसँग प्राविधिक शब्दावली र अध्ययनको सारबारे चासो राखेपछि अनुसन्धानकर्ताले मुलुकको पूर्व प्रधानमन्त्री भइसकेका व्यक्तिबाट चासो दिइपछि यस क्षेत्रमा अझ बढी लाग्ने प्रेरणा मिलेको जनाउनुभएको थियो ।

नेता खनालले जनस्वास्थ्यका बारेमा सरकार, विज्ञ र जनस्तरबीच सूचना, ज्ञान र नयाँ नयाँ उपचार विधिबारे समन्वय हुनुपर्ने तथा राज्यले जनस्वास्थलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो । राष्ट्रिय योजना आयोगका सदस्य डा प्रेम दङ्गालले सर्पदंशको रोकथाम विधि र एन्टी स्नेक भेनम उत्पादनबारे आफूहरुले पनि अध्ययन गरी योजना बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

गत मङ्सिरमा गठित सो प्रतिष्ठानका अध्यक्ष रेवती पन्तले एन्टी स्नेक भेनम उत्पादनको सम्भावनाबारे गरिएको अध्ययन र प्राप्त निचोड सरकारलाई अवगत गराई यस क्षेत्रमा मुलुकलाई परनिर्भरमुक्त बनाउने प्रयासबारे जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया