आर्थिक सङ्कलन गरेर सशस्त्र प्रहरीको भवन निर्माण

इनेप्लिज २०७१ चैत २९ गते ६:०६ मा प्रकाशित

तुलसीपुर (दाङ), २९ चैत । नागरिकको सक्रियतामा तुलसीपुर नगरपालिका–९ को दोघरेमा सशस्त्र प्रहरीबलको भवन निर्माण भएको छ ।

विभिन्न व्यक्ति, सङ्घ संस्थासँग आर्थिक एवम् निर्माण सामग्री सङ्कलन गरेर नागरिकले करिब रु २२ लाख खर्च गरेर भवन निर्माण गरी दिएका हुन् ।

भवन निर्माणका लागि तुलसीपुर नगर विकास समिति, तुलसीपुर नगरपालिका, तुलसीपुर उद्योग वाणिज्य सङ्घ, जिल्ला विकास समिति दाङ, राप्ती अञ्चल बस व्यवसायी समितिसहित अन्य चारवटा यातायात समितिसहित यस क्षेत्रका सञ्चारकर्मी, व्यवसायीलगायतले व्यक्तिगतरुपमा आर्थिक सहयोग गरेको र सोहीबमोजिम निर्माण कार्यलाई अगाडि बढाउन सजिलो भएको भवन निर्माण समितिका संयोजक टीकाराम रेग्मीले बताउनुभयो ।

केही वर्ष अगाडि पश्चिम दाङमा दिनहुँजसो घट्ने गरेका आपराधिक घटनालाई नियन्त्रण गर्न तुलसीपुर क्षेत्रमा अस्थायीरुपमा भए पनि सशस्त्र प्रहरी राख्न यहाँ आम नागरिकले सशस्त्र प्रहरीबल ज्वालामाईगण भालुवाङ दाङसँग माग गरेपछि तत्कालीन जिल्लाका सुरक्षा निकायका प्रमुखहरु बैठक बसी तुलसीपुरमा अस्थायीरुपमा केही समयका लागि भन्दै सशस्त्र प्रहरीको बेस राख्ने निर्णय गरेका थिए ।

प्रतिक्रिया