बाग्मती सफाइ महाअभियान सुरु, यसरी उर्लियो मानवसागर (फोटोफिचरसहित)
काठमाडौँ, २८ चैत । बाग्मती सफाइ महाअभियान १००औँ हप्ता विशेष कार्यक्रम सुरु भएको छ । सुन्दरीजलदेखि सुन्दरीघाटसम्मको २८ किलोमिटर क्षेत्रमा हजारौँको सहभागिता रहेको छ ।
राष्ट्रिय गानबाट सुरु भएको महाअभियान बाग्मती नदी प्रणालीको सरसफाइ सम्बन्धमा आम जनतामा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यका साथ आयोजना गरिएको हो ।
महाअभियानमा सहभागीले ‘बाग्मती नदी सफा गछौँ’ ,‘सफा गर्न सक्छौँ’ ‘हामीले नगरे कसले गर्छ’, ‘अहिले नगरे कहिले गर्ने’ भन्ने सपथसमेत लिएका छन् । बाग्मती सफाइ महाअभियानका अभियन्ता मुख्यसचिव लीलामणि पौड्यालले सुन्दरीजल ओख्रेनी माविमा सफाइको नेतृत्व गर्नुभएको छ ।
सफाइ महाअभियान एक सय हप्ता पुगेको अवसरमा बाग्मती नदीमा ५६ किलोमिटर क्षेत्रमा लामो मानव साङ्लो बनाइएको छ ।
बाग्मती नदी किनारको दुवै क्षेत्रमा हजाराँै नागरिक सहभागी भएका छन् । सफाइका लागि सरकारले विभिन्न मन्त्रालयका १३ जना सचिवलाई विभिन्न १३ स्थानमा संयोजक तोकेको छ भने विभिन्न क्षेत्रमा स्थापित १२ जना व्यक्तित्वलाई समन्वयकर्ताको जिम्मा दिइएको छ । उहाँहरु आ–आफ्ना तोकिएका क्षेत्रमा उपस्थित भई सफाइ अभियानमा सहभागी हुनुभएको छ ।
सफाइ महाअभियानमा मानव साङ्लो बनाइएको छ र मानव सभ्यताको मुहानको रुपमा लिइएको नदी सफा गराँै भन्ने सन्देश दिन खोजिएको छ । विश्वका पुरानो मानव सभ्यतामध्ये बाग्मती सभ्यता पनि एक हो । ‘बाग्मती बा’ का रुपमा परिचित हुतराम वैद्यले सुरु गर्नुभएको बाग्मती सफाइ अभियानले आज सार्थकता पाउन लागेको हो । बाग्मती सफाइ अभियान २०७० जेठ ५ गतेबाट सुरु भएको हो ।
प्रधानमन्त्री सुशील कोइराला पशुपतिनाथ–तिलगङ्गा क्षेत्रमा सहभागी हुनुहुने उहाँका प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिनुभयो । यस्तै नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली थापाथली क्षेत्रमा सहभागी हुनुभएको छ । त्यस्तै एमाले उपाध्यक्ष भीम रावललगायतका नेताहरु सो क्षेत्रमा सहभागी हुनुभएको छ ।
अभियानमा अध्यक्ष ओलीका बुबा मोहन ओलीसमेत सहभागी हुनुभएको छ । एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल तिनकुने क्षेत्रमा सहभागी हुनुभएको छ ।
यस्तै चोभार सुन्दरीघाटमा हजारौँको सहभागिता रहेको छ । अभियानका अभियन्ता पूर्व सचिव किशोर थापाले अभियान सफल भएको जानकारी दिनुभयो । सुन्दरीघाटमा कीर्तिपुर क्षेत्र र त्यस आसपासका हजारौँको सहभागिता रहेको कीर्तिपुर पर्यटन विकास समितिका सचिव वीरेन्द्र शाक्यले जानकारी दिनुभयो । अभियानलाई सफल बनाउन आज बिहानैदेखि सुरक्षाकर्मी, विभिन्न सङ्घ–संस्थाका प्रतिनिधि सहभागी भएका छन् ।
यस्तै तिलगङ्गा क्षेत्रमा सफाइका लागि सहभागी हुनुभएका सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले हामीले गरेको फोहर हामीले नै सफा गरौँ भन्ने प्रतिक्रिया दिनुभएको छ । उहाँले बाग्मती नदीको पानी पिउनयोग्य बनाउने गरी सफाइ गर्न आफूहरु लागेको बताउनुभयो ।
यसैगरी प्रसूतिगृह क्षेत्रमा उपप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंह, दलका सभासद्, सूचना तथा सञ्चार मन्त्रालयका सचिव सुनिलबहादुर मल्लको नेतृत्वमा सफाइ अभियान सुरु भएको छ ।
उक्त क्षेत्रमा सूचना तथा सञ्चार मन्त्रालय र मातहतका कार्यालयका साथै काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका कर्मचारी र स्थानीयवासीको ठूलो सङ्ख्यामा उपस्थिति थियो ।
महाअभियानमा नेपाली सेनाले विभिन्न स्थानमा पाँच हजार, सशस्त्र प्रहरी बलले तीन हजार र नेपाल प्रहरीले पाँच हजार जनशक्ति परिचालन गरेको छ ।
न्युयोर्कमा मनाईयो गिरीजावावुको९९ औं जन्मजयन्ती
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
तीन हजार नेपालीहरुको सहभागिता रहेको ऐतिहासिक एएनए सम्मेलन सम्पन्न
अमेरिकाका लागी पूर्ब राजदूत डा० अर्जुन कार्की न्युयोर्कमा
प्रतिक्रिया