बिहीबार, मंसिर ११ २०७७
काठमाडौं १२:१७
वासिङटन डिसी 01:32

राष्ट्रिय लिग फुटबलमा पुलिसको पहिलो जित

इनेप्लिज २०७१ चैत २७ गते १८:४९ मा प्रकाशित

football_super_final_pic_final72159

काठमाडौँ, २७ चैत । राष्ट्रिय लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले उपाधि होडमा रहेको थ्री स्टार क्लबलाई २–१ गोल अन्तरले हराउँदै पहिलो जित दर्ता गरेको छ ।

त्रिपुरेश्वरिस्थत दशरथ रङ्शालामा म्यान अफ द म्याच घोषित भरत शाहले खेल सुरु भएको दोस्रो मिनेटमै लामो प्रहारमार्फत गोल गरेर टोलीलाई अग्रता दिलाएका थिए भने बायाँ साइडबाट योगेश श्रेष्ठले लिएको सटिक पासमा २४ औं मिनेटमा विनोद कार्कीले गोल थपेपछि पहिलो हाफमा पुलिसले दुई गोलको अग्रता लियो ।

पहिलो हाफ पूरै पुलिसको दबदबा रहे पनि दोस्रो हाफमा सम्हालिएको थ्री स्टारले गोलका केही राम्रा अवसर सृजना गरेको थियो । दुई गोलले पछि परेको स्थितिमा थ्री स्टारका निराजन खड्काले ८१ औँ मिनेटमा प्रकाश बुढाथोकीको कर्नरमा हेडमार्फत सान्त्वना गोल गरेका थिए । थ्री स्टारले अन्तिमसम्म पनि बराबरीको प्रयास गरेको भए पनि पुलिसले रक्षात्मक खेल खेलेकाले गोल सम्भव भएन र खेल पुलिसको पक्षमा टुङ्गियो ।

आजको जितले तीन अङ्क जोडेको पुलिस लिगको सातौं स्थानमा उक्लिएको छ भने हारका बाबजुद थ्री स्टार तेस्रो स्थानमा छ ।

खेलपछिको पत्रकार सम्मेलनमा पुलिसका प्रशिक्षक विराटकृष्ण श्रेष्ठले पहिलो जितले आफ्नो टोलीको मनोबल बढेको बताउँदै भन्नुभयो, “यो जितले हाम्रो मनोबल उच्च भएको छ तर, खास पुलिसको खेल भने अझै आएको छैन ।”

थ्री स्टारका प्रशिक्षक अन्जन केसीले सुरुमै गोल खाएकाले खेलमा फर्कन गाह्रो भएको र पहिलो हाफ राम्रो खेल्न नसकेको स्वीकार्दै भन्नुभयो, “खेल जित्न ९० मिनेट नै राम्रो खेल्नुपर्छ तर, हामीले ४५ मिनेट मात्र खेल्यौं ।”

प्रतियोगिताअन्तर्गत शनिबार दशरथ रङ्गशालामा सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लब र मनाङ मस्र्याङ्दी क्लब आमनेसामने हुनेछन् ।

प्रतिक्रिया