सोमबार, मंसिर १५ २०७७
काठमाडौं ०८:०३
वासिङटन डिसी 21:18

सभाध्यक्षसँग युरोपेली संसद् प्रतिनिधिमण्डलको भेट

इनेप्लिज २०७१ चैत २६ गते १०:५७ मा प्रकाशित

Subash-C-Nemwang--_236086131काठमाडौँ, २६ चैत । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङसँग नेपालको चारदिने औपचारिक भ्रमणमा रहेको दक्षिण एसियाका लागि युरोपेली संसद् समितिका पदाधिकारीले उहाँको सिंहदरबारस्थित कार्यकक्षमा आज भेटवार्ता गर्‍यो ।

समितिका अध्यक्ष जिन ल्याम्बेर्ट नेतृत्वको उक्त प्रतिनिधिमण्डलले संविधान लेखन, भावी योजना र दलहरुबीच जारी वार्ताको प्रगतिबारे जिज्ञासा राखेको भेटवार्तापछि सभाध्यक्षले सञ्चारकर्मीलाई बताउनुभयो ।

नेपालका राजनीतिक दल र तिनका नेताले आपसी सहमतिमा सबै विवाद टुङ्ग्याएर शीघ्र संविधान जारी गरुन् भन्ने चाहना प्रतिनिधिमण्डलले आफूसँग व्यक्त गरेको जानकारी उहाँले दिनुभयो ।

एमाओवादीसहित ३० दलीय मोर्चाले आह्वान गरेको तीनदिने आमहडताल फिर्ता हुनुले दलहरु वार्ता र संवादबाटै सहमतिमा पुग्न खोजेको महसुस आफूले गरेको जानकारी प्रतिनिधिमण्डललाई दिँदै सभाध्यक्षले भन्नुभयो – “यही चैत ३० गते ३ बजेसम्ममा सहमतिमा पुग्न मैले दल र तिनका नेतालाई बारम्बार झक्झक्याउँदै आएको छु ।”

संविधानका अन्तर्वस्तुमा सहमति जुट्नेमा आफू आशावादी रहेको जानकारी प्रतिनिधिमण्डललाई गराएको बताउँदै उहाँले उक्त प्रतिनिधिमण्डललाई पनि दल र तिनका नेतासँगको भेटवार्तामा शीघ्र सहमति कायम गर्न दबाब दिन अनुरोध गरेको बताउनुभयो ।

“चैत ३० गते ३ बजेसम्ममा दलहरुबीच सहमति नभए संविधानसभाका सदस्यले नै बनाएको नियम र स्थापित मान्यताबमोजिम प्रक्रियामा जानुको विकल्प छैन भन्ने जानकारी पनि गराएँ,” प्रतिनिधिमण्डलले सहमति नभए के हुन्छ भनेर गरेको जिज्ञासाको जवाफमा आफूले भनेको कुरा सुनाउँदै सभाध्यक्ष नेम्वाङले भन्नुभयो ।

भेटका बेला संसद्का महासचिव मनोहरप्रसाद भट्टराई, सचिव ठाकुरप्रसाद बराल, प्रवक्ता मुकुन्दप्रसाद पौडेल, सहप्रवक्ता सुदर्शन कुइँकेल र नेपालका लागि युरोपेली सङ्घका राजदूत रिन्चे टिरिङको उपस्थिति थियो ।

प्रतिक्रिया