शुक्रबारदेखि बिस्केट जात्रा, जात्रा दिउँसै हुने, चोक चोकमा सिसीक्यामेरा

इनेप्लिज २०७१ चैत २६ गते १०:५४ मा प्रकाशित

cc-cameraभक्तपुर, २६ चैत । नयाँ वर्षको आगमनसँगै भक्तपुर बजार र थिमीमा आठ रात नौ दिनसम्म मनाइने ऐतिहासिक एवम् सांस्कृतिक महत्वको बिस्केट जात्राको सम्पूर्ण तयारी पूरा भएको छ ।

गुठी संस्थान भक्तपुरका प्रमुख लेखनाथ सापकोटाले यस वर्ष चैत २७ गतेदेखि सुरु भएर वैशाख ५ गते सम्पन्न हुने बिस्केट जात्राको महत्वपूर्ण रुपमा रहेको भैरव र भद्रकालीको रथ निर्माण सम्पन्न भएको जानकारी दिनुभयो । जात्रा सञ्चालनका लागि जात्रा व्यवस्थापन समिति र विभिन्न निकायलाई आवश्यक सामग्री दिइसकिएको र जात्रा दिउँसै सञ्चालन गर्ने गरी तयारीसमेत भएको बताउनुभयो ।

हरेक वर्ष राति जात्रा हुँदा मानिसको मृत्यु हुने र कैयौं घाइते हुने समस्या भएपछि यस वर्ष दिउँसै जात्रा सञ्चालन गर्न स्थानीयवासीको माग भएकाले त्यसका लागि पहल भइरहेको छ । जात्राका लागि सुरक्षा व्यवस्था कडा पारिएको प्रजिअ अनिलकुमार ठाकुरले जानकारी दिनुभयो । जात्रामा हिंसात्मक घटना नहोस्, ढुङ्गा हानाहान नहोस् भनेर यस वर्ष सुरक्षा व्यवस्था कडा पारिएको उहाँले बताउनुभयो ।

विगत वर्षमा ढुङ्गा हान्नेलाई नियन्त्रणमा लिने र निगरानीमा राख्ने काम भएको तथा सादा पोसाकका सुरक्षाकर्मी व्यापक रुपमा परिचालन गरिएको बताइएको छ । जात्राका लागि मुख्य गरी रथ तान्ने दिन चैत २७ र वैशाख ५ गते भने करिब दुई हजार ५०० सुरक्षाकर्मी परिचालन गरिने जनाइएको छ ।

त्यसैगरी हिंसात्मक घटना हुन नदिन र त्यस्ता व्यक्तिको निगरानी गर्न सडकका चोक चोकमा सिसीक्यामेरा जडान गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख विकास श्रेष्ठले जानकारी दिनुभयो । त्यसैगरी जात्रा अवधिभर स्थानीय भट्टी पसल बन्द गराइने र सञ्चालन भएको पाइएमा कारबाही गरिने उहाँले बताउनुभयो ।

जात्रा अवधिभर आवश्यकताअनुसार नेपाल विद्युत् प्राधिकरणले विद्युत्भार कटौती नगर्ने भएको छ । त्यस्तै नगरपालिका र दमकलले सरसफाइ गर्ने छन् । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई पानी वितरणको व्यवस्था गर्ने गरी जिम्मेवारी तोकिएको छ ।

प्रतिक्रिया