१९३ देशको झण्डा बोकेर शेर्पाले सगरमाथा आरोहण गर्ने

इनेप्लिज २०७१ चैत २५ गते १३:१६ मा प्रकाशित

everestok
काठमाडौं, चैत २५ गते । विश्व शान्तिका लागि भन्दै संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रको झण्डा लिई विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरिने भएको छ ।
विश्वशान्ति मितेरी मञ्च नेपालका उपाध्यक्ष एवं आरोही फुर्वाठिले शेर्पाले संसारका राष्ट्रसंघका १९३ सदस्य राष्ट्रका झण्डा लिई सगरमाथा आरोहण गर्न लाग्नुभएको हो । ‘विश्व शान्ति र मित्रताको लागि सगरमाथा आरोहण २०१५’ अभियानअनुरुप शेर्पाले आगामी जेठ महिनामा सगरमाथा आरोहण गर्ने जनाउनुभएको छ । बुधवार यहाँ आयोजित पत्रकार सम्मेलनमा शेर्पाले संयुक्त राष्ट्रसंघको कार्यालयबाट आधिकारिक रुपमा झण्डासहितको अनुमति प्राप्त गरिसकेको जानकारी दिनुभयो ।
सगरमाथा आरोहण गरी संयुक्त राष्ट्रसंघका हरेक सदस्य राष्ट्रहरुको सगरमाथामा फहराइएको झण्डाको तस्वीर प्रदान गरिने जानकारी शेर्पाले दिनुभयो । “आरोहण पछि प्रत्येक राष्ट्रका राष्ट्रप्रमुखहरुलाई र राष्ट्रसंघको मुख्यालयमा शान्ति र मित्रताको ऐक्यबद्धताको लागि ध्यानाकर्षण पनि गराउने छौ, शेर्पाले भन्नुभयो । ”
सन् १९८८ पर्यटन क्षेत्रमा लग्नुभएको दोलखा निवासी शेर्पाले यसअघि विभिन्न हिमालको आरोहण गरिसक्नुभएको छ । आरोही शेर्पालाई बुधवार एक कार्यक्रमबीच नेपाल पर्वतारोहण संघका अध्यक्ष आङछिरिङ शेर्पाले बिदाई गर्नुभयो ।
सो अबसरमा शेर्पाले विश्व पर्वतारोहण संघको तर्फबाट समेत शुभकामना दिदै यो कार्य विश्वभर छरिएर रहेका नौ करोडभन्दा बढी आरोहीको लागि खुसीको कुरा भएको बताउनुभयो ।
कार्यक्रममा विश्वशान्ति मितेरी मञ्च नेपालका अध्यक्ष विनय शाक्यले शेर्पाले कुनै कीर्तिमान राख्ने उदेश्य नभएर विश्वमा शान्तिको कायम गर्ने अभियानको रुपमा आरोहण गर्न लाग्नुभएको बताउनुभयो ।

प्रतिक्रिया