वार्ताको वातावरण बनाउन नेपाली काँग्रेस र एमाओवादीबीच छलफल
काठमाडौँ, २५ चैत । पछिल्लो राजनीतिक अवस्था र संविधान निर्माणलगायत विषयमा सहमतिको वातावरण बनाउन आज नेपाली काँग्रेस र एकीकृत नेकपा (माओवादी)का नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको छ ।
एमाओवादी नेतृत्वको तीस दलीय मोर्चाले आमहडतालका कार्यक्रम फिर्ता लिएको र यही चैत ३० गते संविधानसभाको बैठक बस्ने भएको सन्दर्भमा दुई दलबीच आज छलफल भएको हो । छलफलमा एमाओवादीले मङ्गलबारको बन्दका क्रममा सरकारले गिरफ्तार गरेका आफ्ना कार्यकर्ताको रिहाइको माग गर्दै त्यसपछि मात्रै औपचारिक वार्ता हुने बताएको थियो भने काँग्रेसले घटना र मुद्दा हेरेर रिहाइ गरिने भन्दै वार्तालाई एकैसाथ अघि बढाउन आग्रह गरेको थियो ।
छलफलपछि एमाओवादीका महासचिव कृष्णबहादुर महराले गिरफ्तार भएका मोर्चाका कार्यकर्ताको रिहाइ, घाइतेको उपचार हुनुपर्ने जनाउँदै त्यसपछि वार्ता हुने पत्रकारलाई बताउनुभयो ।
नेपाली काँग्रेसका प्रवक्ता दिलेन्द्रप्रसाद बडूले हिंसात्मक गतिविधि र आन्दोलन छाडेर वार्ता र सहमतिमा आउन आफूहरुले आग्रह गरेको जानकारी दिनुभयो । गिरफ्तार भएका कार्यकर्ताको रिहाइका सम्बन्धमा सरकारले आवश्यक काम गर्ने भन्दै संविधानका विवादित विषयमा चाँडै औपचारिक वार्ता गरिने बताउनुभयो ।
छलफलमा प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति सुशील कोइराला, प्रवक्ता बडू, सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजाल तथा एमाओवादीबाट महासचिव महरा, नेताहरु शक्तिबहादुर बस्नेत, टोपबहादुर रायमाझी र वर्षमान पुनलगायत हुनुहुन्थ्यो ।
न्युयोर्कमा मनाईयो गिरीजावावुको९९ औं जन्मजयन्ती
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
तीन हजार नेपालीहरुको सहभागिता रहेको ऐतिहासिक एएनए सम्मेलन सम्पन्न
अमेरिकाका लागी पूर्ब राजदूत डा० अर्जुन कार्की न्युयोर्कमा
प्रतिक्रिया