बुधबार, मंसिर १७ २०७७
काठमाडौं २३:४५
वासिङटन डिसी 13:00

गल्यो एमाओवादी मोर्चा, आलोचना भएपछि आमहड्ताल फिर्ता

इनेप्लिज २०७१ चैत २४ गते १६:३७ मा प्रकाशित

Prachanda3

काठमाडौँ, २४ चैत । एकीकृत नेकपा(माओवादी) नेतृत्वको ३० दलीय मोर्चाले पूर्वघोषित नेपाल बन्दलगायत आमहड्तालका सम्पूर्ण कार्यक्रमहरु फिर्ता लिएको छ ।

एमाओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा आज साँझ अबेरसम्म बसेको मोर्चाको बैठकले बुधबार र बिहीबारको बन्दको कार्यक्रम फिर्ता लिएको हो ।

सहमतिका आधारमा संविधान जारी गर्न दबाब दिने उद्देश्यले मोर्चाले आजसहित तीन दिनको नेपाल बन्दलगायत आमहड्तालको कार्यक्रम सार्वजनिक गरेको थियो ।

एमाओवादी संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेर एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सत्तारुढ दलले संविधानसभाको बैठक यही चैत ३० गतेका लागि तय गरेकाले नयाँ राजनीतिक परिस्थिति देखापरेको तथा नागरिक समाज र उद्योगी व्यवसायीका तर्फबाट पनि बन्द फिर्ता लिन आग्रह गरिएकाले तत्कालका लागि फिर्ता लिइएको जानकारी दिनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल चेम्बर अफ कमर्सलगायत निजी क्षेत्रका प्रतिनिधिले आज अध्यक्ष दाहाललाई भेटी बन्दलगायतका कार्यक्रम फिर्ता लिन आग्रह गरेको थियो ।

सहमतिका आधारमा संविधान जारी गर्ने विषयमा आफूहरुको सहमति रहेको भन्दै निजी क्षेत्रका प्रतिनिधिले बन्दलगायतका विरोध कार्यक्रम फिर्ता लिई आन्दोलनको स्वरुप परिवर्तन गर्न आग्रह गरेको अध्यक्ष दाहालले जानकारी दिनुभयो ।

यसैबीच, मोर्चाको बैठकले सोमबार साँझ नेपाल बन्दको पूर्वसन्ध्यामा मशाल जुलुस प्रदर्शन गर्ने क्रममा प्रहरी प्रशासनबाट धरपकडबाट सयभन्दा बढी नेता तथा कार्यकर्ता घाइते भएको घटनाप्रति आपत्ति जनाएको छ । साथै, सो घटनामा गम्भीर घाइते भएका १२ मध्ये चार जनालाई आजै हेलिकोप्टबाट काठमाडौँ ल्याइएको जानकारी दिइयो ।

मोर्चाले मुलुकका नेपाल बन्दका क्रममा मुलुकका विभिन्न भागमा पक्राउ परेका आफ्ना नेता तथा कार्यकर्ताको अविलम्ब रिहाइको माग गर्दै द्विपक्षीय झडपका क्रममा घाइते भएका नेता तथा कार्यकर्ताको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

बैठकमा पूर्व घोषित आन्दोलनको समग्र परिस्थितिको समीक्षा गर्नुका साथै भावी कार्यक्रमबारे गम्भीर छलफल भएको अध्यक्ष दाहालले जानकारी दिनुभयो । ३० दलीय मोर्चाको कार्यक्रमप्रति ऐक्यबद्धता जनाउँदै आजको बैठकमा चुरे भावर राष्ट्रिय पार्टीले समेत सहभागिता जनाएको छ ।

यस्तै बैठकले सेवा केन्द्र विस्तारपछि उत्पन्न परिस्थितिलाई लिएर आन्दोलनमा उत्रिएका रौतहटका जनताको मागलाई समर्थन गर्दै यही चैत २६ गते मोर्चाका सबै शीर्ष नेता सहभागी भई सम्बोधन गर्ने कार्यक्रम तय गरेको छ ।

आन्दोलनको क्रममा प्रहरी प्रशासनले स्थानीयमाथि अत्याधिक बल प्रयोग गरेको भन्दै मोर्चाले आपत्ति प्रकट गरेको छ । यस्तै बैठकले यही चैत २७ गते मोर्चाको बैठक बसेर आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरिने अध्यक्ष दाहालले जानकारी दिनुभयो । सहमतिका आधारमा संविधान जारी गर्न दबाब दिने उद्देश्यका साथ नेपाल बन्दलगायत कार्यक्रम घोषणा गरेको बताएको थियो ।

संविधानका विवादित विषयहरुमा सहमति कायम हुन नसके प्रक्रियामा गएर टुङ्गो लगाउने सत्तारुढ दलको अडान र सहमति कायम हुन नसकेको खण्डमा आन्दोलनको दबाब सिर्जना गरेर सत्तापक्षलाई सहमतिमा ल्याउने मोर्चाको भनाइबाट संविधान लेखनको काम लामो समयदेखि प्रभावित हुँदै आएको छ । रासस

प्रतिक्रिया