मंगलबार, मंसिर ९ २०७७
काठमाडौं ०४:०३
वासिङटन डिसी 17:18

बन्द फिर्ता लिन निजी क्षेत्रको एमाओवादी अध्यक्ष दाहालसँग आग्रह

इनेप्लिज २०७१ चैत २४ गते १०:५५ मा प्रकाशित

sangeकाठमाडौँ, २४ चैत । नेपाल उद्योग वाणिज्य महासङ्घले एकीकृत नेकपा (माओवादी)को नेतृत्वमा रहेको तीस दलीय मोर्चाले घोषणा गरेको आमहडतालको कार्यक्रम फिर्ता लिन एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग आग्रह गरेको छ ।

एमाओवादी अध्यक्ष दाहाललाई आज उहाँको निवास लाजिम्पाटमा भेट गर्दै महासङ्घले बन्दले जनजीवन प्रभावित भएको र गरिखाने वर्गलाई समस्यामा पारेको अवगत गराएको थियो ।

एमाओवादी अध्यक्ष दाहालले आफूले तीस दलीय मोर्चाको आजको बैठकमा बन्द फिर्ता गर्ने वा नगर्ने भन्ने विषयमा छलफल गर्ने बताउनुभएको थियो ।

महासङ्घका कार्यबाहक अध्यक्ष पशुपति मुरारकाले बन्द फिर्ता लिन आफूहरुले एमाओवादी अध्यक्ष दाहाललाई आग्रह गरेको जानकारी दिनुभयो । सहमतिका आधारमा संविधान निर्माण गर्नुपर्छ भन्नेमा महासङ्घको सहमति भए पनि बन्द फिर्ता गर्न आफूहरुले आग्रह गरेको उहाँको भनाइ छ ।

“अध्यक्ष दाहालले बन्द केही कम गर्न सकिने विषयमा आश्वासन दिनुभएको छ । हामी आशावादी छाँै, बन्द हडताल फिर्ता हुन्छ,” कार्यबाहक अध्यक्ष मुरारकाले भन्नुभयो ।

अध्यक्ष दाहालसँग छलफल गर्न नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ र स्वतन्त्र ऊर्जा उत्पादक सङ्घका प्रतिनिधि पनि लाजिम्पाट पुग्नुभएको थियो ।

निजी क्षेत्रका प्रतिनिधिसँग अध्यक्ष दाहालले छलफल गर्नुभएको जानकारी दिँदै अध्यक्ष दाहालका सहयोगी शिव खकुरेलले बन्दका विषयमा आज साँझ बस्ने मोर्चाको बैठकमा छलफल हुने जानकारी गराउनुभएको थियो ।

सहमतिका आधारमा संविधान जारी गर्नुपर्ने माग गर्दै एमाओवादी नेतृत्वको तीस दलीय मोर्चाले आजसहित यही चैत २६ गतेसम्म बन्दको घोषणा गरेको छ ।

प्रतिक्रिया