सोमबार, मंसिर १५ २०७७
काठमाडौं ०५:०४
वासिङटन डिसी 18:19

सतापक्षबाट सहमतिमै संविधान जारी हुने प्रतिबद्धता प्रकट भए आन्दोलन फिर्ता हुने: अध्यक्ष यादव

इनेप्लिज २०७१ चैत २४ गते १०:२५ मा प्रकाशित

Upendra-Yadavविराटनगर, २४ चैत । मधेसी जनअधिकार फोरम (नेपाल)का अध्यक्ष उपेन्द्र यादवले विगतमा भएका सम्झौताहरुको कार्यान्वयन नगरी उल्टाउने प्रयास गरिएकाले बाध्य भएर आन्दोलनमा जानुपरेको बताउनुभएको छ ।

विराटनगरस्थित आफ्नो निवासमा आज सञ्चारकर्मीहरुसँगको भेटघाटमा उहाँले सत्तारुढ दलले विगतमा भएका सम्झौतालाई कार्यान्वयनका साथै सहमतिमै संविधान जारी गर्ने प्रतिबद्धताका साथ विश्वस्त पार्न सक्यो भने आन्दोलन फिर्ता गरी सहकार्यका लागि अगाडि बढ्ने स्पष्ट पार्नुभयो ।

उहाँले तीनदिने बन्दका क्रममा कार्यकर्ताहरु संयमित रहने उल्लेख गर्नु भयो । उहाँले सत्तापक्षसँग दुई तिहाइ पनि नरहेको र सहमतिका आधारमा संविधान बनाउन नचाहेकाले मुलुकमा अन्योलता बढेको धारणा प्रकट गर्नुभयो ।

सङ्घीयतालाई थाती राखेर सङ्घीयताविहीन संविधान स्वीकार नहुने प्रष्ट पार्दै उहाँले यसो गरिएमा मुलुकको अवस्था भयावह हुने चेतावनी दिनुभयो ।

संविधानसभा छोड्ने सन्दर्भमा सञ्चारकर्मीको जिज्ञासामा अध्यक्ष यादवले शताब्दीदेखि विभेदमा पारिएका समुदाय, क्षेत्रसँग न्याय नगरी सत्तापक्षले जबर्जस्ती संविधान जारी गरेको अवस्थामा संविधानसभा छोड्ने अवस्था पनि आउन सक्ने सम्भावना व्यक्त गर्नुभयो ।

सङ्घीय राज्यको सन्दर्भमा उहाँले चुरे क्षेत्रदेखि तराईको भूभाग मिलाएर मिश्रित राज्य बन्न सक्ने तर, प्राकृतिक स्रोतविहीन पारेर सप्तरीदेखि पर्सासम्मको राज्य बनाउन खोज्यो भने त्यस्तो राज्य स्वीकार नहुने स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया