मौरी चरनमा समस्या भएको किसानको गुनासो

इनेप्लिज २०७१ चैत २४ गते ३:५८ मा प्रकाशित

honey-beeसुरुङ्गा (झापा), २४ चैत । झापाका मौरीपालक किसानले मौरी चरनमा समस्या भएको बताएका छन् । भद्रपुरस्थित कलवलगुढीमा सोमबार आयोजित ६ दिवसीय मौरीपालन तालिमको समापन समारोहमा सहभागी किसानले सो कुरा बताएका हुन् ।

व्यावसायिक कीट विकास निर्देशनालय हरिहरभवनले आयोजना गरेको तालिममा झापाका ३७ र उदयपुरका २० मौरीपालक किसान सहभागी थिए । सहभागीमध्ये अधिकांशले मौरी चरनमा समस्या भएको बताएका हुन् ।

तालिममा सहभागीमध्ये सतासी महिला मौरीपालक सहकारी संस्थाकी व्यवस्थापक देवीमाया दाहालले मौरी चराउन ठाउँको अभाव भएको र मौरी चराउन ढुवानीका लागि सरकारले सहुलियत दरमा ऋण उपलब्ध र सवारीसाधनको व्यवस्था गर्न माग गर्नुभयो ।

यसैगरी मोहन तिम्सिना र धनमाया थापाले समेत मौरी चरनमा समस्या भएकाले किसानका लागि सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो ।
जिल्ला कृषि विकास कार्यालय झापाको संयोजनमा भएको कार्यक्रममा व्यावसायिक कीट विकास निर्देशनालयका कार्यक्रम निर्देशक जगदीशभक्त श्रेष्ठले सरकारले कृषि विकासका लागि नयाँ योजना ल्याएको र योजनाअनुरुप किसानका लागि सरकारले छिट्टै विशेष कार्यक्रम ल्याउने जानकारी दिनुभयो ।

यसैबीच तालिममा सहभागी किसानलाई २० घार मौरी अनुदान दिइने बताइएको छ । हाल झापामा एक हजार २०० घार मौरीपालन हुँदै आएको र यो वर्षबाट दुई हजारभन्दा बढी घार मौरी पाल्न थालिएको जिल्ला कृषि विकास कार्यालय झापाले जनाएको छ । झापामा आर्थिक वर्ष २०७०/०७१ मा रु ५० लाख मूल्यबराबरको मह उत्पादन भएको मौरीपालक कृषक सङ्घ झापाका अध्यक्ष विष्णु सङ्ग्रौलाले बताउनुभयो ।

प्रतिक्रिया