आइतबार, मंसिर १४ २०७७
काठमाडौं १२:४९
वासिङटन डिसी 02:04

संविधानसभा बैठकमा शोक प्रस्ताव, अर्को बैठक शनिबार

इनेप्लिज २०७१ चैत २३ गते १०:४९ मा प्रकाशित

sambidhansavaकाठमाडौँ, २३ चैत । संविधासभाको आजको बैठकले दुईवटा बेग्लाबेग्लै शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।

करिब दुई महिनाको अन्तरालमा भएको उक्त बैठकमा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले तत्कालीन प्रतिनिधिसभा सदस्य एवम् पूर्व गृह राज्यमन्त्री महेन्द्र यादव र अघिल्लो संविधासभा सदस्य रामनाथ ढकालको निधनप्रति शोक शोक प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

बैठकमा दिवङ्गत नेताद्वयको सम्मानमा एक मिनेट मौन धारण गरिएको थियो ।

महोत्तरीबाट २०४८ र २०५१ सालमा प्रतिनिधिसभामा नेपाली काङ्ग्रेसका तर्फबाट निर्वाचित हुनुभएका यादवको ६२ वर्षको उमेरमा भरतपुर क्यान्सर अस्पतालमा बे्रन ट्युमरको उपचारका क्रममा यही चैत १७ गते निधन भएको थियो ।

त्यस्तै गुल्मीबाट २०५१ सालमा प्रतिनिधिसभा सदस्य तथा २०६४ सालको संविधानसभा सदस्यमा निर्वाचित हुनुभएका पूर्व सभासद् ढकालको आइतबार उपचारका क्रममा काठमाडौँमा निधन भएको थियो ।

पूर्व गृहमन्त्री यादवको निधनप्रति बैठकद्वारा पारित शोक प्रस्तावमा भनिएको छ– “संविधानसभाको यो बैठक २०४८ र २०५१ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा महोत्तरी क्षेत्र नं १ बाट नेपाली काँग्रेस पार्टीका तर्फबाट निर्वाचित सदस्य, प्रजातन्त्र स्थापना तथा पुनःस्थापनाका योद्धा, लोकतन्त्रवादी नेता एवम् पूर्व गृह राज्यमन्त्री महेन्द्र यादवको ६२ वर्षको उमेरमा चितवनस्थित भरतपुर क्यान्सर अस्पतालमा ब्रेटन ट्युमरको उपचारका क्रममा यही चैत १७ गते मङ्लबार असामयीक निधन भएकामा गहिरो शोक प्रकट गर्दछ । ”

त्यसैगरी बैठकले पारित गरेको अर्को शोक प्रस्तावमा “२०५१ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा गुल्मी क्षेत्र नं १ बाट र २०६४ सालको संविधानसभा सदस्य निर्वाचनमा रुपन्देही जिल्लाको क्षेत्र नं ५ बाट नेपाल कम्युनिष्ट पार्टी एमालेका तर्फबाट निर्वाचित सदस्य एवम् व्यवस्थापिका–संसद् राज्य व्यवस्था समितिका सभापति, विकासप्रेमी, गतिशील र प्रभावकारी नेतृत्व एवम् जुझारु व्यक्तित्वका धनी तथा लोकतान्त्रिक आन्दोलनका योद्धा रामनाथ ढकालको ५२ वर्षको उमेरमा काठमाडौँ स्थित ग्रान्डी अस्पतालमा क्षयरोग र लिम्फोमालगायत रोगको उपचारका क्रममा हिजो असामयीक निधन भएकामा गहिरो शोक प्रकट गर्दछ”, भनिएको छ ।

बैठकले नेताद्वय आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।

एनेकपा माओवादी पनि बैठकमा

संविधानका अन्तर्वस्तुमा सहमतिका लागि आन्दोलनका तर्फबाट दबाब सिर्जना गर्ने उद्देश्यका साथ संविधानसभाको बैठकमा सामेल नहुने अभिव्यक्ति दिँदै आएको एनेकपा माओवादीका तर्फबाटसमेत आजको बैठकमा सहभागिता जनाइएको थियो ।

एमाओवादी संसदीय दलका सचेतक गिरिराजमणि पोखरेलले एमाओवादीको नेतृत्वमा रहेको ३० दलीय मोर्चाको यही चैत १५ गतेको बैठकले आजबाट प्रारम्भ हुने संविधानसभाको बैठकमा सहभागी नहुने जनाए पनि बैठकको कार्यसूचीलाई दृष्टिगत गरी सहभागी भएको प्रतिक्रिया राससलाई दिनुभयो ।

उहाँले भन्नुभयो, “मोर्चाद्वार घोषणा गरिएका आन्दोलनका कार्यक्रम जारी रहेका छन् ।” गत माघ २९ गते संविधानका अन्तर्वस्तुमा सहमति कायम होस् भनेर स्थगन गरिएको बैठक करिब दुई महिनापछि आजबाट प्रारम्भ भएको हो ।

यस बीचमा दलहरूको बैठक पटक–पटक भए पनि औपचारिक रुपमा परिणाम हासिल गर्ने किसिमबाट फलदायी हुन सकेनन् । फलस्वरुप विवादित विषयमा सहमति जुट्न नसक्दा शासकीय स्वरुप, सङ्घीयता, न्यायप्रणाली र निर्वाचन प्रणालीबारे मतैक्यता हुन सकेको छैन ।

संविधानसभाको अर्काे बैठक यही चैत ३० गते शनिबार ३ बजे बस्नेछ ।

प्रतिक्रिया