हिमालका देवता बस्ने रिखार क्षेत्रको भौतिक विकास र संरक्षणको माग

इनेप्लिज २०७१ चैत २३ गते २:५७ मा प्रकाशित

Myagdi_district_locationबेनी (म्याग्दी), २३ चैत । म्याग्दी जिल्लाको कुइनेमङ्गले गाविसमा अवस्थित धौलागिरि हिमालको फेदैमा अवस्थित ‘हिमालका देवता’को बासस्थान मानिने रिखार क्षेत्रको संरक्षण, प्रचारप्रसार र त्यस क्षेत्रको पर्यटन विकासका लागि स्थानीय बासिन्दा एकजुट भएका छन् ।

जिल्ला सदरमुकाम बेनीबजारदेखि करिब ४० किलोमिटर उत्तरतर्फ धौलागिरि हिमालको फेदमा अवस्थित रिखार क्षेत्र धार्मिक दृष्टिले मात्र नभई पर्यटकीय गन्तव्यका रुपमा समेत महत्वपूर्ण रहेको छ ।

आवश्यक प्रचारप्रसार र भौतिक पूर्वाधारको अभावका कारण ‘बत्तीमुनिको अँध्यारो’ बनेको रिखार क्षेत्रको प्रचारप्रसारका लागि स्थानीयवासीले जिल्लाका सरोकारवाला निकायलाई जानकारी गराउनेदेखि लिएर सो क्षेत्रको सरसफाइ र गोरेटोबाटो निर्माणमा जुटेका हुन् ।

स्कन्दपुराणका अनुसार द्वापरयुगमा देवीदेवता र ऋृषिमुनिले तपस्या गर्ने रिखार क्षेत्र मनमोहक प्राकृतिक वातावरण, जैविक र सांस्कृतिक विविधता, वन्यजन्तु तथा पक्षीका कारण आकर्षक पर्यटकीय गन्तव्य बन्न सक्ने प्रबल सम्भावना रहेको स्थानीयवासी दर्शन छन्त्यालले बताउनुभयो । रिखार क्षेत्रलाई हिमालका देवताको बासस्थान भनेर चिनिने गरिएको उहाँको भनाइ छ ।

रिखार ताल छेउमै रहेको शिवमन्दिर र वर्षौंपहिलेका शिल्पीको संरक्षणका लागि स्थानीय तहबाट भएको प्रयासलाई माथिल्लो निकायबाट सहयोग नभएको त्यस क्षेत्रको पर्यटकीय विकासमा सक्रिय रहँदै आउनुभएका बमबहादुर शेरपुञ्जाले बताउनुभयो । शेरपुञ्जाका अनुसार संरक्षणको अभावमा मन्दिर जीर्ण बनेको छ भने छन्त्याल, मगरलगायत भाषाका शिल्पलिपिहरू नष्ट हुने अवस्थामा छन् ।

सरोकारवालाको बेवास्ताका कारण त्यस क्षेत्रमा गरिएको अध्ययनको प्रतिवेदन अहिले अलपत्र परेको छ । रिखार क्षेत्रमा पुग्न उचित बाटोघाटो निर्माण र अन्य भौतिक संरचनाको निर्माणतर्फ सबैको ध्यान पुगे त्यहाँको विकास हुने स्थानीय बासिन्दा देउमान घर्तीको भनाइ छ । तलाउको जलले स्नान गरी भगवान्को पूजाअर्चना गर्नाले भगवान्को लोक पाउने र पुण्य प्राप्त हुने जनविश्वास रहेको छ । देशका विभिन्न स्थानका साथै भारतबाट आउने तीर्थयात्री र पर्यटक बाटो र खानेबस्ने होटलको सुविधा नहुँदा समस्यामा पर्ने गरेका छन् ।

प्रतिक्रिया