मंगलबार, मंसिर १६ २०७७
काठमाडौं १९:४४
वासिङटन डिसी 08:59

सोमबार १ बजे संविधानसभाको बैठक बस्दै

इनेप्लिज २०७१ चैत २२ गते १४:४४ मा प्रकाशित

sambidhansabhaकाठमाडौँ, २२ चैत । संविधानसभाको बैठक सोमबार १ बजेका लागि बोलाइएको छ । संविधानसभा व्यवस्थापिका–संसद् सचिवालयले संविधानसभा भवन नयाँ बानेश्वरमा बैठक बोलाएको छ ।

संविधानका अन्र्तवस्तुमा सहमति जुट्न नसकेपछि गत माघ ३० गते स्थगित भएको बैठक यही चैत १४ गते बोलाइएको थियो । संविधानसभा सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलका अनुसार सोमबारको बैठकको कार्यसूची शोक प्रस्ताव रहेको छ ।

नेकपा (एमाले)का नेता पूर्वसभासद् रामनाथ ढकालको आज उपचारका क्रममा राजधानीको ग्रान्डी अस्पतालमा निधन भएको छ । उहाँको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची भोलिको बैठकको रहेको सहायक प्रवक्ता कुइँकेलले बताउनुभयो ।

संविधानका विवादित विषयमा दलहरुबीच सहमति जुटाउनका लागि भन्दै सभाध्यक्ष नेम्वाङले दलहरुलाई समय दिन संविधानसभाको बैठक अनिश्चितकालका लागि स्थगित गर्नुभएको थियो । तर दलहरुबीच औपचारिक रुपमा गत फागुन ३० गते एकपटक छलफल भए पनि अन्य समयमा कुनै पनि छलफल हुन सकेन ।

लामो समय संविधानसभाको बैठक स्थगित हुन नहुने र जनताले बैठक कहिले बोलाउने भन्दै पटक–पटक प्रश्न गरेको भन्दै सभाध्यक्ष नेम्वाङले यही चैत १४ गते बैठक बोलाउनुभएको थियो । एमाओवादी नेतृत्वमा रहेको ३० दलीय मोर्चाले बैठकमा भाग नलिने बताउँदै आएको छ । बहुमतीय प्रक्रियामा आधारमा अगाडि बढाइने कुनै पनि बैठकमा सहभागी नहुने उनीहरुको तर्क रहँदै आएको छ ।

सोमबारको बैठकमा कुनै पनि औपचारिक कार्यसूची तय नभएकाले शोक प्रस्तावमा नै सीमित हुने देखिएको छ । नेपाली काँग्रेस र नेकपा(एमाले)लगायतका दलले तत्काल प्रक्रिया सुरु गर्न र सोही अवधिमा वार्ता र संवादलाई पनि जारी राख्न सकिने बताउँदै आएका छन् ।

यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले अब बस्ने संविधानसभाको बैठकमा प्रश्नावली समितिमा हिन्दु राष्ट्र, सङ्घीयता र हिन्दु राष्ट्रका विषय समावेश गर्न माग गरेको छ ।

पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा आज बसेको संसदीय दलको बैठकले प्रश्नावली समितिमा सचाएर ती विषय संलग्न नगराइएमा भोलिको बैठक अवरुद्ध पार्ने निर्णय गरेको पार्टीका सहायक महामन्त्री राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।

त्यसैगरी सो बैठकले सभामुखले अहिलेसम्म हिउँदे अधिवेशन नबोलाएकामा खेद प्रस्ताव पारित गरेको छ । संविधानसभाको बैठक भोलि सोमबार दिउँसो १ बजे बस्दै छ ।

प्रतिक्रिया