बुधबार, मंसिर १७ २०७७
काठमाडौं ०९:४०
वासिङटन डिसी 22:55

बन्दले मुलुकको विकास हुँदैन: उद्योग मन्त्री

इनेप्लिज २०७१ चैत २२ गते १४:४३ मा प्रकाशित

Mahesh_20150204063639मोरङ (पथरी), २२ चैत । उद्योगमन्त्री महेश बस्नेतले बन्द हडताल गरेर देशलाई बर्बादीतर्फ धकेल्ने संस्कारको अन्त्य गर्नुपर्ने बताउनुभयो ।

आज विराटनगरमा आयोजित नेपाल दूरसञ्चार कर्मचारी सङ्घको रजत जयन्ती समारोमा मन्त्री बस्नेतले बन्द हडताल गरेर जनतालाई दुःख नदिन सम्बन्धित पक्षलाई आग्रह गर्नुभयो । बन्द हडतालले उद्योगलाई अर्बांैको नोक्सानी हुने उल्लेख गर्दै बन्द हडताल गर्नेहरुलाई निरुत्साहित गनुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले बन्द रहेका नेपालका पुराना तथा ठूला उद्योगहरु लिजमा दिएर भए पनि सञ्चालन गनुपर्ने बताउनुभयो ।

मुलुकलाई राजनीतिक सङ्क्रमणबाट जोगाउन सबै दलको उत्तिकै भूमिका रहेको उल्लेख गर्दै मन्त्री बस्नेतले एकीकृत माओवादीसहित ३० दललाई पनि संविधान निर्माणमा नेपाली काँग्रेस र नेकपा (एमाले)सँग हातेमालो गरेर अगाडि बढ्न आग्रह गर्नुभयो ।

दूरसञ्चार कर्मचारी सङ्घ पूर्वाञ्चल क्षेत्रीय समितिका अध्यक्ष मोहन फुयाँलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल दूरसञ्चार कर्मचारी सङ्घ केन्द्रीय अध्यक्ष राजबहादुर रावल, नेपाल टेलिकम पूर्वाञ्चल क्षेत्रीय निमित्त निर्देशक देवेन्द्र खतिवडा, दूरसञ्चार कर्मचारी सङ्घ पूर्व केन्द्रीय अध्यक्ष गोपाल ढकालले बोल्नुभएको थियो ।

सो अवसरमा उद्योग मन्त्री महेश बस्नेतले पूर्वक्षेत्रीय अध्यक्ष गोपाल ढकाल, सूर्य निरौला, भवानी निरौला र पशुपति सुवेदीलाई सम्मानित गर्नुभएको थियो ।

प्रतिक्रिया