मंगलबार, मंसिर ९ २०७७
काठमाडौं २०:३८
वासिङटन डिसी 09:53

ढकालको निधनले ‘एमाले मर्माहत र शोक विह्वल’, दाहसंस्कार सोमबार

इनेप्लिज २०७१ चैत २२ गते ११:११ मा प्रकाशित

ramnath-dhakalकाठमाडौँ, २२ चैत । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य रामनाथ ढकालको निधनले सिङ्गो पार्टी स्तब्ध, मर्माहत र शोक विह्वल भएको एमाले केन्द्रीय कार्यालयले जनाएको छ ।

स्वाइन फ्लुबाट पीडित ढकालको आज दिउँसो ग्राण्डी अस्पतालमा उपचारका क्रममा दुःखद निधन भएको थियो । उहाँ ५२ वर्षको हुनुहुन्थ्यो ।

एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले आज जारी गर्नुभएको विज्ञप्तिमा ढकाल विगत केही समययता क्षयरोग र लिम्फोमा विरुद्ध सङ्घर्षरत रहनुभएको तथा चिकित्सकको अथक प्रयासका बीच उपचारका क्रममै भएको दुःखद निधनले सिङ्गो पार्टी असाध्यै मर्माहत भएको जनाइएको छ ।

‘दुःखको यस घडीमा एमाले केन्द्रीय कार्यालय ढकालप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

उहाँको पार्थिव शरीरलाई भोलि बिहान ८ः०० बजे पार्टी केन्द्रीय कार्यालय, बल्खुमा अन्तिम श्रद्धाञ्जलिका निम्ति राखिने र ११ बजे पशुपति आर्यघाटमा विधिवत् दाहसंस्कार गरिने भएको छ ।

उहाँका दुई श्रीमती, दुई छोरा र एक छोरी हुनुहुन्छ ।

यस्तो थियो ढकालको राजनीतिक यात्रा

विसं २०१९ पुस ५ गते गुल्मी जिल्ला खड्गकोट गाविस वडा नं ३, उपल्लो कोरेङमा बुबा दीनानाथ शर्मा ढकाल र आमा देवकला शर्मा ढकालका ज्येष्ठ सुपुत्रका रूपमा जन्मनुभएका ढकाल एमालेका जुझारु युवा नेता हुुनुहुन्थ्यो । विसं २०३७ मा अनेरास्ववियुको गुल्मी जिल्ला कोषाध्यक्षका रूपमा लोकतान्त्रिक आन्दोलनमा होमिनुभएका उहाँ सङ्गठनका विभिन्न जिम्मेवारी सम्हाल्दै अनेरास्ववियुको केन्द्रीय अध्यक्ष निर्वाचित हुनुभयो र विद्यार्थी आन्दोलनको चर्चित र अग्रणी नेताका रूपमा स्थापित हुन सफल हुनुभयो ।

विसं २०४० सालमा नेकपा (माले) को पार्टी सदस्यका रूपमा कम्युनिस्ट आन्दोलनमा संलग्न उहाँले पार्टीको लुम्बिनी अञ्चल सचिव तथा अञ्चल इञ्चार्जको जिम्मेवारी बहन गर्नुभएको थियो । सातौँ महाधिवेशनपछि केन्द्रीय सदस्य रहनुभएका ढकाल नवौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटीमा पुनः निर्वाचित हुनुभएको थियो र हाल उहाँ पार्टी पोलिटब्युरो सदस्य र लुम्बिनी अञ्चल इञ्चार्जको जिम्मेवारीमा हुनुहुन्थ्यो ।

पञ्चायतकालमा पटक–पटक प्रहरी प्रशासन र अन्य पक्षबाट उहाँमाथि साङ्घातिक आक्रमण पनि गरिएको थियो । विसं २०५१ सालमा गुल्मी–१ बाट प्रतिनिधिसभा सदस्यका रूपमा निर्वाचित उहाँले विकासप्रेमी, सक्रिय र प्रभावकारी सांसदका रूपमा आफ्नो विशिष्ट छाप छाड्न सफल हुनुभएको एमालेले जनाएको छ ।

विसं २०६४ मा सम्पन्न संविधानसभा निर्वाचनमा रूपन्देही क्षेत्र नं ५ बाट विजयी उहाँले व्यवस्थापिका–संसद्मा राज्य व्यवस्था समितिको सभापतिका रूपमा निर्वाह गर्नुभएको भूमिका संसदीय इतिहासमा सदैव स्मरणीय रहने एमालेको ठहर छ ।

प्रतिक्रिया