हिमपातका कारण यार्सागुम्बामा ढिलाइ हुने

इनेप्लिज २०७१ चैत २२ गते ९:०६ मा प्रकाशित

yarsagumba0.gifभीमदत्तनगर, २२ चैत । यस वर्ष दार्चुलाको हिमाली क्षेत्रहरुमा उच्च हिमपात भएको छ । गत वर्षभन्दा यस वर्ष तुलनात्मक रुपमा धेरै हिमपात भएकाले ती क्षेत्रहरुमा यार्सागुम्बा ढिलो हुने भएको स्थानीयले बताएका छन् ।

दार्चुलाका यार्सा पाइने क्षेत्रमा मौसममा बदली हुनेबित्तिकै हिमपात हुने गरेका कारण यार्र्सामा ढिलाइ हुने सङ्केत देखिएको हो । दार्चुलाको घुसा, खण्डेश्वरी, गुल्जर, सितोला, राप्ला र व्यास गाविसको उच्च भूभागमा यार्सा गुम्बा पाइने गरेको छ ।

हिमपातका कारण यस वर्ष यार्सा सङ्कलनका लागि वैशाख अन्तिम साताबाट जाने तयारी भइरहेको खण्डेश्वरीका स्थानीय कल्याणसिंह बोहराले बताउनुभयो ।

हिमालमा अत्यधिक हिउँ जमेका कारण गत वर्षभन्दा ढिला गरी सङ्कलनको तयारी भइरहेको हो । दार्चुलामा वैशाख अन्तिम सातादेखि यार्सा सङ्कलनको कार्य सुरु हुन्छ ।

जिल्लाको प्रमुख आयस्रोत नै यार्सागुम्बा सङ्कलन भएकाले वैशाख अन्तिमसातादेखि असारसम्मको अवधिमा स्थानीयवासी यार्सा सङ्कलन गर्न जाने गर्दछन् । यस वर्षको यार्सागुम्बाको मौसम सुरु हुन थाले पनि मार्मा क्षेत्रका स्थानीयवासीले भने अहिलेसम्म गत वर्षको यार्साको मूल्य पाउन सकेका छैनन् ।

प्रतिक्रिया