शनिबार, मंसिर १३ २०७७
काठमाडौं ०१:१०
वासिङटन डिसी 14:25

संविधानसभा बहिष्कार गर्नु जनताको मतको अपमान हो: महामन्त्री सिटौला

इनेप्लिज २०७१ चैत २२ गते ९:०० मा प्रकाशित

krishna-sitaulaविराटनगर, २२ चैत । नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले संविधान जारी नभएसम्म सुशील कोइरालाको नेतृत्वको सरकार नै रहिरहने दाबी गर्नुभएको छ ।

नेपाल प्रेस युनियन मोरङको आयोजनामा आज विराटनगरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले एमाओवादीलगायतका दलले सहमति शब्दको गलत ढङ्गले व्याख्या गरिरहेको धारणा राख्नु भयो ।

कुनै एक दलको सोचमा संविधान बनाउन नसक्ने उल्लेख गर्दै महामन्त्री सिटौलाले ठूला दल एक ठाउँमा बसेर संविधान निर्माणको विषयलाई केन्द्रविन्दुमा राखेर छलफलको आवश्यकता छ भन्नु भयो ।

सङ्घीयताको विषयमा पार्टीहरुबीच फरक मत आउनु स्वाभाविक रहेको प्रसङ्ग उल्लेख गर्दै नेपाली काँग्रेसले जनताको चाहनाअनुरुप सात प्रदेशको खाका प्रस्तुत गरेको बताउनुभयो ।

उहाँ भन्नुभयो, “संविधानसभाबाट संविधान जारी गर्न जनताले निर्वाचित गरेर पठाएकामा संविधानसभा बहिष्कार गर्नु भनेको जनताको मतको अपमान हो ।”

उहाँले संविधानसभामा बसेर छलफल गरी तयार पारेका प्रारम्भिक मस्यौदालाई जनताका बीचमा पठाउनुपर्नेमा सडक आन्दोलन गर्नुको कुनै औचित्य नरहेको स्पष्ट पार्नुभयो ।

समायोजन भएका एमाओवादी लडाकु र हतियार फिर्ता लिन सक्ने एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको अभिव्यक्तिको सन्दर्भमा पत्रकारहरुले जिज्ञासा राख्दा उहाँले दाहालको द्वैध मानसिकताका कारण निराश र हतासको अभिव्यक्ति भएको प्रतिक्रिया दिनुभयो ।

नेपाली काँग्रसको महाधिवेशनको सन्दर्भमा उहाँले कुनै पनि हालतमा महाधिवेशनको तिथि नसारिने उल्लेख गर्दै अन्यथा काँग्रसको वैधानिकतामाथि नै प्रश्न उठ्न सक्ने स्पष्ट पार्नुभयो ।

एमाओवादी ३० दलीय मोर्चालाई बन्द हडताल फिर्ता गरी संविधान निर्माणको कार्यमा जुट्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया