सोह्र करोड मूल्यबराबरको लागूऔषध कोकिनसहित मलेसियाली महिला पक्राउ

इनेप्लिज २०७१ चैत २१ गते १३:२४ मा प्रकाशित

pakrau-काठमाडौँ, २१ चैत । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ केजी लागूऔषध कोकिनसहित मलेसियाली नागरिक मारिना बिन्ती जमालुद्धिनलाई प्रहरीले पक्राउ गरेको छ ।

राहदानी नम्बर ए ३४८९१३८१ बाहक ३६ वर्षीया जमलुद्धिनलाई काठमाडौँबाट दोहा हुँदै इटालीको रोम लैजान लागेको अवस्थामा शुक्रबार राति लागूऔषध नियन्त्रण ब्युरोको टोलीले पक्राउ गरेको हो । सो परिणामको कोकिनको अन्तर्राष्ट्रिय बजारमा १६ करोड रुपैयाँभन्दा बढी मूल्य पर्नेे प्रहरीले जनाएको छ ।

क्यु.आर. ६५१ को उडानद्वारा काठमाडौँबाट दोहा जाने क्रममा उनलाई पाँचवटा ल्यापटप ब्यागमा लुकाइछिपाइ ल्याएको अवस्थामा उक्त परिमाणको कोकिन फेला पारेको प्रहरीले जनाएको छ ।

प्रहरीले सोधपुछ गर्दा ल्यापटप नै हो भनेको तर एक्सरे स्क्रिनिङ गर्नेक्रममा शङ्का लागि चेकजाँच गर्दा ५ वटै ब्यागमा ल्यापटप जस्तै बनाएर राखेको अवस्थामा लागूऔषध फेला परेको थियो ।

यसअघि मलेशिया, दिल्ली हुँदै रोमतर्फ लाने गरेकी जमालुद्धिनले पहिलोपटक नेपालको बाटो प्रयोग गरेकी प्रहरीलाई बताएकी छन् । यसअघि पनि आपूmले मलेसियाबाट भारतको दिल्ली हुँदै धेरैपटक लागूऔषधको ओसारपसार गरे पनि नेपालको बाटो पहिलोपटक प्रयोग गरेको प्रहरीलाई वयान दिएकी छन् ।

उनले ब्राजिलबाट दोहा, दोहाबाट काठमाडौँ हुँदै इटालीको रोम पु¥याउन उक्त कोकिन ल्याएको खुलाएकी छन् । उक्त लागूऔषध कोकिन अन्तर्राष्ट्रिय बजारमा प्रति केजी करिब डेढ करोड रुपैयाँमा कारोवार हुने गरेको प्रहरीले जनाएको छ ।

जमालुद्धिन गत चैत १ गते मलेसियाबाट ब्राजिल र चैत १४ गते दोहा हुँदै काठमाडौँ उडेकी थिइन् । लागूऔषध कोकिन दिने व्यक्तिले सुरक्षाको कारण आफूलाई नेपालको बाटो प्रयोग गर्न लगाएको बताएकी छन् ।

प्रारम्भिक अनुसन्धानको क्रममा ब्राजिलबाट लागूऔषध लिई उड्दा एक हजार डलर ( करिब एक लाख नेपाली रुपैयाँ) पाएको र गन्तव्यमा पुर्‍याएपछि थप पाँच हजार डलर पाउने उनले बताएकी छन् ।

काठमाडौँ लाजिम्पाटको एक अपार्टमेन्टमा बस्ने ती महिलाको नेपालमा कुनै लागूऔषध कारोवारीसँग सम्बन्ध नभएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । यस सम्बन्धमा प्रहरीले अन्य आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया