शनिबार, मंसिर २० २०७७
काठमाडौं ०३:००
वासिङटन डिसी 16:15

तीन दलका कारण देश जटिल मोडमा: अध्यक्ष थापा

इनेप्लिज २०७१ चैत २१ गते १३:१७ मा प्रकाशित

kamal-thapa1चितवन, २१ चैत । राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रमुख तीन राजनीतिक दलका कारण देश जटिल मोडमा पुगेको बताउनुभएको छ ।

भरतपुरमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष थापाले सत्तारुढ दलहरु बहुमतको आधारमा पेलेर अघि बढ्न खोज्दा संविधान निर्माण कार्य अघि बढ्न नसकेको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो “सत्तारुढ दललाई बहुमतको दम्भ छ, एमाओवादीले संविधानसभाको चुनावमा भोगेको हार बिर्सन सकेको छैन, अनि कसरी संविधान निर्माण कार्य अघि बढ्छ ?” सबै दललाई मिलाएर संविधान जारी गर्ने जिम्मेवारी काँग्र्रेस एमालेले पाए पनि निषेधको राजनीतिले समस्या थप जटिल बनेको उहाँले बताउनुभयो ।

विदेशीको इसारामा सङ्घीयतामा जान दलहरु तयार भए पनि सङ्घीयताका विषयमा प्रमुख राजनीतिक दलसँग स्पष्ट धारणा नरहेको उहाँको भनाइ थियो ।

आजै उहाँले योगी नरहरिनाथ गौ संरक्षण केन्द्र बागेश्वरीलाई रु ५५ हजारको चेक हस्तान्तरण गर्नुभयो । थापाले केन्द्रका अध्यक्ष टङ्क पौडेललाई उक्त चेक हस्तान्तरण गर्नुभएको हो ।

राप्रपा नेपालको संसदीय कोषबाट सो रकम विनियोजन गरेको थापाले बताउनुभयो । सो अवसरमा उहाँले नेपाल हिन्दू राष्ट्र भएको भन्दै धर्म निरपेक्षता लागू हुन नसक्ने दाबी गर्नुभयो । केन्द्रमा हाल २०० भन्दा बढी गाईको संरक्षण गरिँदै आएको छ ।

प्रतिक्रिया