सोमबार, मंसिर १५ २०७७
काठमाडौं ००:४८
वासिङटन डिसी 14:03

यादव पौडेल बिनाका तीन वर्ष

इनेप्लिज २०७१ चैत २१ गते ३:४९ मा प्रकाशित

601147_502036123166501_656679893_n - Copy(1)

तीर्थ सिग्देल

1013599_739317396105038_1997530247885229466_nयादवको हत्या भएको आज तीन वर्ष पुगेछ । उसको हत्याको रात सम्झँदा पनि आङ सिरिङ्ग हुन्छ । उसले युवा अवस्थामै ज्यान गुमाउनु पर्यो । एउटा उर्जाशील युवा जसले मृत्युको कल्पना गरेको थिएन । किनभने उसको कलम सशक्त थियो । विकृति विसंगती विरुद्धको जेहाद छेड्ने उसको कलम सदैव भाँचियो ।

पत्रकारिता समाज परिवर्तन र विकासको द्योतक हो । पत्रकारले गर्ने काम देश विकास र समाजको अग्रगतीतर्फ केन्द्रीत हुन्छ । तर, सबै मानिसका मित्र हुँदैनन् । सबै पेशा जोखिम विहीन छैनन् । यादव पौडेल त्यही जोखिममा पर्यो । पेशागत असुरक्षा र व्यक्तिगत सुरक्षामा ध्यान नदिँदा विश्वमा धेरै पत्रकारले ज्यान गुमाएका छन् । यादव पनि यस्तै असुरक्षाको मारमा पर्यो । उसको मृत्युले नेपालको पत्रकारहरुको सुरक्षाको अवस्थालाई मात्र झल्काएको छैन । एक प्रकारको पाठ पनि सिकाएको छ ।

आज दुःखसाथ लेख्नै पर्छ । यादव मेरो अत्यन्त मिल्ने साथी थियो । साँच्चै भन्नुपर्दा उसलाई मैले नै पत्रकारिता पेशामा अवद्ध गराएको थिएँ । दुःख लाग्छ, उसको मृत्युले मलाई साहै्र मर्माहत बनाएको छ । २०६८ सालको राति जतिबेला उसले मलाई फोन गरेको थियो, त्यो नै यादवसँगको अन्तिम कुराकानी थियो । आज पनि लेख्नै पर्छ । त्यो रात यादव युवराज गिरीसँगै थियो । ‘हामी सँगै छौं, तिमी आउनु पर्यो’ झण्डै उसले मलाई राति १० बजेतिर फोन गरेको थियो । आज पनि सम्झन्छु, त्यो रात म उसले बोलाएको ठाउँमा गएको भए, के हुन्थ्यो ? कतिपय साथीहरुले पछि मलाई भने– ‘उसले बोलाएको ठाउँमा गएको भए हुन्थ्यो ।’
1465251_457082644447350_2600101462196814033_n - Copy(1)

गएको भए के हुन्थ्यो ? थाहा छैन । म पनि त्यस घटनामा पर्न सक्थें । वा, त्यस्तो घटना हुनबाट मैले रोक्न सक्थें । के हुन्थ्यो भन्न सकिन्न । तर, अहिले पनि लाग्छ, त्यस रात म घरबाट ननिस्केर मैले ठीक गरें । त्यो रात यादव पौडेल, उसको परिवार र समग्र नेपाली पत्रकारहरुका लागि कालरात्री बन्यो । त्यससँगै मेरा लागि त्यो क्षण जति पीडादायी बन्यो, त्यति नै जीवनदान पाएको ठानेको छु ।

यादव पौडेल खोज पत्रकारिता पुरस्कार कोषद्वारा प्रकाशित ‘सम्झनामा यादव पौडेल’ नामक स्मृति ग्रन्थमा यादवका एकजना सहपाठी महेश गौतमले ‘यादवले आफ्नो सुरक्षाप्रति ध्यान पुर्याउन सकेन वा जरुरी ठानेन, किनभने पत्रकारिताको कवच मात्र पत्रकारको सुरक्षाका लागि पर्याप्त हुँदो रहेनछ’ भनेर लेखेका छन् ।

वास्तवमा पत्रकार भन्दैमा  कोही पनि सुरक्षित हुने होईन । संसारमा कुनै पनि वस्तु आफैं सुरक्षित हुँदैन । जो सस्त्र शस्त्रादीबाट सुसज्जित हुन्छ, उ झन् बढी असुरक्षित महसूस गर्छ । उसले चारैतिर सुरक्षा तैनाथी बढाएको हुन्छ । एउटा पत्रकार त निशस्त्र हुन्छ । झन् उ के सुरक्षित हुन्छ र ? शायद यो तर्कलाई यादवले महसूस गर्न सकेन ।

बिडम्बना नै भन्नुपर्छ । नेपालमा पत्रकार र पत्रकारिता पेशालाई उपयोग गर्ने प्रवृत्ति छ । सबै क्षेत्रले यसलाई प्रयोग गर्छ । आफ्नो काम लिञ्जेल ज्यू ज्यू गर्छ र काम सकिएपछि खोजखबर गर्दैन । आफ्नो फाईदाका लागि मिडिया खोल्न प्रेरित गर्ने र त्यसपछि साथ सहयोग नगर्ने प्रवृत्ति छ । यो प्रवृत्ति पत्रकारिता पेशा र पत्रकार दुवैका लागि घातक हो ।

अहिले पत्रकार यादवका हत्यारा जेलको चिसो छिँडिमा त पुगेका त छन् । तर, नेपाली जेल जहाँबाट संसार चिहाउन मिल्छ । जेल सुधार र कैदीबन्दीका नाममा बेलाबेला हुने कार्यक्रम र कारागार प्रशासनको खुकुलो नीतिले यस्ता हत्याराको मनोबल बढेको छ । अहिले पनि ती हत्यारा जेलराज चलाईराखेका छन् भने जेलबाटै चन्दा आतङ्क मच्चाईरहेका छन् । यो अवस्था झन् चिन्ताजनक हो । जेल प्रशासन सजग बनोस् ।

यादव पौडेलकी श्रीमति सुनम र छोराछोरी आजसम्म शोकमा छन् । उसकी आमा वृद्धावस्थामा छोराको यादमा छिन् । यादवको मृत्युमा धेरैले गोहीका आँशु निकाले, घुँडाबाट आँशु चुहाए । भन्न मन नलागि नलागि आज भन्दैछु । यहाँ मान्छेले कामको मूल्याङ्कन गर्दो रहेनछ । पेशाको मान नगर्दो रहेछ ।

खाली राजनीतिको कलुसित भावना र ब्यक्तिगत टकरावलाई प्राथमिकता दिँदो रहेछ । हिजो यादव त्यहि प्रवृत्तिको शिकार बनेको थियो । उ एउटा पेशाप्रति ईमान्दार थियो । उसले छोटो समयमा प्रविधिसँगै पेशालाई अगाडि बढाएको थियो । पत्रकारिता सुरु गरेको २ वर्षभित्रमै उ केटो पत्रकारिता पुरस्कारबाट पुरस्कृत भइसकेको थियो ।

अन्त्यमा स्व. यादव पौडेलको आत्माले चिर शान्ति पाओस् भन्दै सो हत्याकाण्डमा जेल परेकाले उन्मुक्ति नपाउन् । त्यसतर्फ सबैको ध्यान पुगोस् । राजनीति र बैरभावलाई पत्रकारको सुरक्षाको सवालसँग नजोडौं । पत्रकार र पत्रकारिताको गरिमा र गौरवलाई उच्च राखौं । सबैले भन्ने गरेको झापाको पत्रकारितालाई निश्कलंकित बनाऔं ।

प्रतिक्रिया