एउटा पार्टीको महाधिवेशनमा आमन्त्रित अन्य पार्टी प्रतिनिधिले नाराबाजी, होहल्ला गर्नु राजनैतिक

इनेप्लिज २०७१ चैत १९ गते १४:२१ मा प्रकाशित

khem(2)एउटा पार्टीको महाधिवेशनमा आमन्त्रित अन्य पार्टी प्रतिनिधिले नाराबाजी, होहल्ला गर्नु राजनैतिक संस्कार हो ?
खेमराज रानाभाट ‘चिन्तन’

नेपाली काङ्ग्रेसको विदेशस्थित भगिनी संस्था नेपाली जनसम्पर्क समितिको चौथो महाधिवेशनमा अस्ती २९ मार्चमा एउटा उद्देक लाग्दो घटना घट्यो । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य, सभासद, चर्चित युवा नेता गगन थापा र नेपाली काङ्ग्रेसका अर्का केन्द्रीय सदस्य, सभासद धनराज गुरुङ सहभागि रहेको जनसम्पर्क समिति पोर्चुगलको महाधिवेशनमा आमन्त्रित अन्य पार्टी र संघ संस्थाको प्रतिनिधिहरु मध्ये एमाओवादी र संघीय समाजवादी पार्टीका प्रतिनिधिले लिस्वोन स्थित होटेल फेनिक्सको महाधिवेशन हलमा ‘नेपाली काङ्ग्रेस मुर्दावाद, पहिचानवादी एक हौँ ‘ भन्दै नाराबाजी, होहल्ला गर्दै कालो झण्डा देखाउने र महाधिवेशन बिथोल्ने प्रयास गरे पछि धेरै नेपालीका आशा भरोसाका धरोहर चर्चित युवानेता गगन थापा र जनजाति पृष्ठभुमिका बौद्धिक नेता धनराज गुरुङको भाषण सुन्न आएका जनसम्पर्क समिति समर्थकले नाराबाजी, होहल्ला गर्नेलाई घोक्क्रेठ्याक लगाई हल बाहिर निकाली सुरक्षाकर्मीको जिम्मा लगाई दिएका थिए ।

कुनै पनि पार्टी या सामाजिक संघ संस्थाको महाधिवेशनमा आमन्त्रित अन्य पार्टी तथा सामाजिक संघ संस्थाहरुले त्यो महाधिवेशन सफलताको शुभकामना साथै आउने कार्यकालको लागि सल्लाह सुझाब सहितको आफ्नो धारणा राख्ने विश्वभर सर्वोस्वीकृत मान्यता छ। उक्त महाधिवेशनमा निमन्त्रणा गरिएका एमाओवादी र संघीय समाजवादी पार्टीको पोर्चुगलस्थित भातृ संस्थाका प्रतिनिधिहरुले उक्त महाधिवेशनमा निम्तोलाई स्वीकारेर उपलब्ध मञ्चको सदुपयोग गर्नुको सट्टा महाधिवेशन हलमा नाराबाजी, होहल्ला गर्दै कालो झण्डा र आफैले लगाएको कालो सर्ट फुकालेर प्रदर्शन गरेका थिए । जुन कार्य अत्यन्तै अराजनैतिक, घृणित र निन्दनीय थियो। अथितिको रुपमा आफुलाई उपलब्ध मञ्चबाट धेरैले आशा गरेका युवा नेता गगन थापा र धनराज गुरुङको उपस्थितिमा आफ्नो विचार राख्नुको सट्टा महाधिवेशन बिथोल्ने उद्देश्यले काङ्ग्रेस मुर्दावाद भन्दै नाराबाजी र कुर्ची माथि चढी होहल्ला गर्नु एउटा उद्दण्ड अनि पागलपन हो।

एउटै पार्टी भित्रका प्रतिनिधिहरु त सैद्धान्तिक, कार्यनीतिक र व्यवहारिक रुपमा एकता हुदैन भने विभिन्न पार्टीहरु बीच मतभेद, भिन्नता हुनु कत्ति पनि अस्वाभाविक होइन । समाज, देश बदल्ने दृष्टिकोण पार्टी पार्टी बीच फरक छन भन्दैमा एउटा पार्टीको भातृ संस्थाको महाधिवेशन स्थलमा गएर उसैको विरोधमा नाराबाजी गर्नु, होहल्ला गरी कार्यक्रम बिथोल्न खोज्नु कुनै पनि हालतमा हामीले खोजेको राजनैतिक संस्कार र स्वतन्त्रता अन्तर्गत पर्दैन । आफ्नो फरक विचार र त्यस संस्था प्रतिको विमति उपलब्ध भएमा उक्त कार्यक्रमको मञ्चबाट राख्नु राजनैतिक चरित्र हो । आज विश्वव्यापी रुपमा स्वीकारिएको मान्यता पनि यहि हो । अब हामीले आफ्ना विमति, गुनासा र फरक मत अरुका कार्यक्रम स्थलमा होहल्ला गरेर, आयोजक संस्थाको कार्यक्रममा नकारात्मक असर पार्ने संस्कार स्थापित गर्न लागेका छौं र संसारलाई त्यहि सिकाउन खोजेका छौं भने त्यो हुलदंगा मच्चाउन संलग्न हुनेहरुले जानुन । नत्र भने अस्ती २९ मार्चमा जनसम्पर्क समितिको महाधिवेशन हलमा एमाओवादी र संघीय समाजवादी पार्टीका प्रतिनिधि, समर्थकले जुन हर्कत गरे आजको संसारलाई पाच्य हुने व्यवहार विल्कुलै थिएन ।

उक्त घटना प्रति काँग्रेस केन्द्रीय सदस्य, विश्व चर्चित युवानेता गगन थापाले आश्चर्य चकित हुदै भने- ‘आज देशमा संविधान निर्माणको क्रममा एमाओवादी लगायतका आन्दोलनरत दलहरुसंग सहमति हुन सकेन र यहि स्थित लम्बिदै गयो भने के अब ५ /६ महिना पछि आउदै गरेको नेपाली काँग्रेसको तेह्रौ महाधिवेशनमा प्रचण्ड लगायतका आन्दोलनरत दलका नेताहरु कालो सर्ट लगाएर आई महाधिवेशन हलमा सर्ट खोलेर कालो झण्डा प्रदर्शन गरे भन्दै उफ्रिने, नाराबाजी गर्ने काम गर्छन त भन्दै नाराबाजीमा संलग्नहरु प्रति प्रश्न गरे ।’ उक्त महाधिवेशनमा काङ्ग्रेस पार्टीको केन्द्रीय प्रतिनिधिको रुपमा सहभागि केन्द्रीय सदस्य धनराज गुरुङले भन्छन – ‘राजनीति गर्नेलाई कालो झण्डा देखाउनु, विरोध गर्नु कुनै ठुलो कुरा होइन । यसलाई हामी सामान्य रुपमा लिन्छौं । तर के भोली खुल्ला मञ्चमा राजतन्त्र फर्काउनु पर्छ, हिन्दुराज्य हुनु पर्छ भन्दै कमल थापाको पार्टी या संघीयता हुनु हुदैन भन्दै चित्र बहादुर के.सी.को पार्टीले आमसभा गर्दै गर्दा त्यो मन नपराउने पार्टीको समर्थकले खुल्ला मञ्च भित्र छिरेर नाराबाजी, होहल्ला गर्नु कत्तिको जायज र राजनैतिक व्यवहार हो भन्दै नाराबाजीमा संलग्न प्रतिनिधिहरु लाई प्रतिप्रश्न गरेका थियो ।’ यस्ता सामान्य कुराको जानकारी पनि नभएकोले होहल्ला र नाराबाजी गरी महाधिवेशन बिथोल्न खोजेकोमा आश्चर्य प्रकट गरेका थिए यो पंक्तिकारसंग काङ्ग्रेस युवानेता तथा सभासद गुरुङले ।

यो लेख तयार गर्दै गर्दा पोर्चुगल मै भएका एक पत्रकार मित्रले सार्वजनिक ठाउँमा विरोध गर्न त महाधिवेशन खुल्ला चौरमा गर्नु प-यो नि भन्दै मसंग टेलिफोनमा गुनासो गरेका थिए । खुल्ला चौर मै कार्यक्रम गरे पनि के त्यहि आएर होहल्ला, नाराबाजी गर्दै कालो झण्डा देखाउन पाइन्छ ? के यस्तो कार्य राजनीतिक संस्कार, सभ्यता र आजको विश्वले खोजेको स्वतन्त्रता अन्तर्गत पर्छ त ? पक्कै पनि आजको विश्वले खोजेको राजनैतिक स्वतन्त्रता यस्तो खालको होइन । हामी भन्छौं विकास, सभ्यता र राजनीतिक संस्कारयुक्त युरोपमा बसेका छौं । यस्तै संस्कार हो त हामीले हाम्रो नेता र समाजलाई युरोपबाट सिकाउन चाहेको !? सांकेतिक विरोध गर्ने, कालो झण्डा देखाउने कार्यक्रम भई रहेको हलमा होइन र कार्यक्रम भई रहेको खुल्ला सार्वजनिक स्थान भित्र पनि होइन । कालो झण्डा देखाई त्यो सांकेतिक विरोध गर्ने भनेको कार्यक्रम हल भन्दा बाहिर, कार्यक्रम भएको खुल्ला स्थान भन्दा बाहिर, कार्यक्रममा सहभागी हुन आउने बाटोमा हो । होइन भने कार्यक्रममा आफ्नो कुरा राख्ने मौका पाए त्यहि कार्यक्रमको मञ्च प्रयोग गरि आफ्नो माग, असन्तुष्टि र फरक विचार राख्ने हो । सो अवसर नपाए मिडिया मार्फत आफ्नो विरोध,माग र भनाई राख्नु आजको राजनीतिक संस्कार हो ।

अन्तत: आफ्नो बुझाई, विचार शान्तिपूर्ण तवरबाट छलफल,बहस गर्दै फरक बुझाई, विचार भएकालाई बुझाउदै जानु वा दोहोरो बहस, छलफल, अन्तरक्रियाबाट फरक विचार भएकाहरुबाट बुझ्दै-सिक्दै जानु नै हामी बीच भएका सैद्धान्तिक,कार्यनीतिक र व्यवहारिक मतभेद, भिन्नता कम गर्ने उत्तम उपाय हो। यहि नै सकारात्मक तर्फको शान्तिपूर्ण र स्थायी बाटो हो । हिमाल पहाड तराई जहाँका बासिन्दा भएपनि हामी पहिला नेपाली हौँ भन्ने कुरा बिर्सनु हुदैन। जुन सुकै ठाउँमा आदिम कालदेखि बस्दै आएका हौँ या पछि आएर बस्न थालेका हौँ हामी सबै नेपालीको समान अधिकार र सबैले उत्तिकै प्रगति गर्ने मौका, अवसर पाउनु पर्छ । सबै जात, क्षेत्र र समुदाय भित्रका पछाडि परेका व्यक्ति, समुदायलाई नियम, कानुन बनाई र कार्यक्रम मार्फत माथि उठाई निश्चित समय पश्चात अन्यसंग प्रतिस्पर्धा गर्न सक्ने बनाउनु पर्दछ । नेपाल जस्तो गरीब देशमा हामीमा विद्यमान समस्या छिट्टो भन्दा छिट्टो समाधान गर्न नेपाली-नेपाली बीच जातीय, क्षेत्रीय, भाषीक र अन्य किसिमबाट फुट, घृणा र एक अर्का प्रति असहयोगको वातावरण सृजना भएमा हाम्रो प्रगति तर्फको चाहना र गतिलाई झन अवरोध पु-याउने छ। यो कुरा सबै नेपालीले समय मै बुझ्नु जरुरी छ ।

प्रतिक्रिया