सरकारले सम्भावनाको सदुपयोग गर्न सकेन

इनेप्लिज २०७१ चैत १९ गते ३:५८ मा प्रकाशित

पथरी (मोरङ), १९ चैत । मोरङको पहाडी क्षेत्र याङ्शीला, जाँते, लेटाङ, भोगटेनी, वारङगी, रमितेखोलामा रहेका सम्भावनाको सरकारले सदुपयोग गर्न नसकेको स्थानीयवासीले आरोप लगाएका छन् ।

राज्यबाट उपेक्षित हुनुपरेको भन्दै स्थानीयले विकास निर्माणदेखि स्थानीयले गर्दै आएको विकासको कामलाई समेत निरन्तरता दिनका लागि सबैको ध्यानाकर्षण गराउनु पर्नेमा धेरैको जोड छ ।

मोरङको पथरीबाट झन्डै १० किलोमिटरको दूरीमा रहेको एउटा बस्ती जहाँ धेरै प्रकृतिका हावापानी एकै ठाउँमा पाउने गरिन्छ । वडा नम्बर १ जहाँ जाँते गाविस भवन र विद्यालय, मन्दिर चौतारो पाटी पौवा र पुलेसा रहेका छन् ।

स्थानीय युवा, सीताराम विक भन्नुहुन्छ “सम्भावना भएर पनि पछाडि परेको यो स्थानको बारेमा सहयोगको खाँचो छ ।” विकासको हिसाबमा पछाडि पर्ने डरले समेटिन नसकेको स्थानीय बताउँछन् ।

तर उनीहरुको पहाडी क्षेत्रका नगरपालिका र गाविसलाई नमुना गाविसको रुपमा चिनाउने योजनामा लागिरहेको स्थानीयवासीको भनाइ छ ।

जाँते गाविस अहिले गाउँ खुला दिसामुक्त घोषणा भएको छ । गाउँका व्यक्ति अहिले एक भएर गाउँलाई बालअधिकार युक्त गाविस बनाउने योजनामा लागिपरेका छन् । जाँते बाल सञ्जालकी अध्यक्ष अनिता विमली भन्नुहुन्छ हामी अबको केही वर्षमा नै जाँतेलाई पूर्ण बालअधिकार मैत्री गाविस बनाउँदै छौँ ।

गाविसले विकासको कामलाई प्राथमिकतामा राख्दै सबै गाउँमा सडक पु¥याउने काम त गरेको छ नै त्योबाहेक क्षेत्र निर्धारण गरेर हरेक वर्ष बजेट विनियोजनसमेत गर्दै आएको जनाएको छ ।

गाविसले झन्डै वर्षमा रु ५० लाखको हाराहारीमा बजेटको माग गरेको भए पनि रु २५ लाखको हाराहारीमा मात्र रकम हात पर्ने गरेको गाविस कार्यालय जाँतेले जनाएको छ ।

गाविस सचिव सूर्यबहादुर महतराका अनुसार गाविसको बजेट विभिन्न शीर्षकमा जाने हुँदा विकासको काममा कमै मात्र रकम प्राप्त हुने गरिएको हो ।

वार्षिक झन्डै रु ५० करोडको तरकारी जाँतेबाट नै बाहिर निकासी हुने गरेको बताइन्छ । विकासको काममा गर्ने प्रयास भए पनि गाविसले सोचेअनुसारका काम नगरिदिँदा समस्या हुने गरेको स्थानीयको आरोप छ ।

जाँते गाविस सचिव सूर्यबहादुर महतरा भन्नुहुन्छ “जिल्ला विकास तथा अन्य निकायले पर्यटन विकासका लागि लगानी गर्न सकेमा धेरैकुरा मोरङको पहाडी नगरपालिका र गाविसमा रहेको छ ।” अहिले मोरङको पहाडी क्षेत्रमा लेटाङ भोगटेनी नगरपालिका र याङ्शीला, जाँते, लेटाङ, वारङगी, रमितेखोलामा गाविस रहेका छन् ।

प्रतिक्रिया