बुधबार, मंसिर १० २०७७
काठमाडौं २०:१०
वासिङटन डिसी 09:25

नयाँ संविधान सहकारीमैत्री हुने छ: नेम्वाङ

इनेप्लिज २०७१ चैत १८ गते १४:१३ मा प्रकाशित

Subash-C-Nemwang--_236086131ललितपुर, १८ चैत । सभाध्यक्ष सुवास नेम्वाङले अब बन्ने संविधान सहकारीमैत्री बन्ने विश्वास व्यक्त गर्नुभएको छ ।

अन्ठाउनौं राष्ट्रिय सहकारी दिवसका् अवसरमा राष्ट्रिय सहकारी सङ्घद्वारा आयोजित ‘आयात प्रतिस्थापन र सामाजिक न्यायका लागि सहकारी’ विषयको विचार गोष्ठी एवम् पुरस्कार घोषणा समारोहलाई सम्बोधन गर्दै उहाँले राजनीतिले सकारात्मक गति लिन नसक्दा हाम्रो मुलुक चीन र भारत जस्तो आर्थिक रुपमा सबल हुन नसकेकाले जति सक्दो छिटो संविधान निर्माण गर्नका लागि सबै दललाई छिटो सहमति गरी मुलुकलाई समाधान दिन आग्रह गर्नुभयो ।

उहाँले सहमति हुनै नसके प्रक्रियाबाट भएपछि जतिसक्दो छिटो संविधान निर्माण हुने बताउनुभयो ।

राष्ट्रिय सहकारी सङ्घका अध्यक्ष एवम् सभासद् केशवप्रसाद बडालले अन्तरिम संविधानमा उल्लिखित आर्थिक विकासका तीन खम्बामध्ये सहकारी पनि एक भएकाले आगामी बन्ने संविधानमा उक्त मान्यतालाई दीर्घकालीन रुपमा लागू गर्न अनुरोध गर्नुभयो ।

पूर्वअर्थमन्त्री एवम् सङ्घका सल्लाहकार भरतमोहन अधिकारीले चालु आवको छ महिनामा करिब रु ३४४ अर्ब व्यापार घाटा भएको उल्लेख गर्दै सो व्यापार घाटालाई कम गर्न कृषिजन्य उत्पादन बढाएर आयात घटाउने र निर्यात बढाउनुपर्नेमा जोड दिनुभयो ।

नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले मुलुकको विकासको प्रमुख मेरुदण्डका रुपमा रहेको सहकारीको थप विकास र विस्तारका लागि सरकारीस्तरबाट प्रोत्साहन गर्नु जरुरी रहेको बताउनुभयो ।

छ सहकारीलाई पुरस्कार दिइने
सहकारी सङ्घले राष्ट्रिय सहकारी दिवसका अवसरमा हरेक वर्ष दिइँदै आएको उत्कृष्ट पुरस्कार यस वर्ष जिल्लास्तरीय सहकारी सङ्घमध्ये सर्वोत्कृष्ट कार्य गर्ने मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ लि हेटौँडा (मकवानपुर), लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लि (ललितपुर), नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि (झापा), ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि (नवलपरासी), कस्तुरी बहुउद्देश्यीय सहकारी संस्था लि (जाजरकोट) लाई तथा उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार महिला जागरण बचत तथा ऋण सहकारी संस्था लि (मकवानपुर)लाई प्रदान गर्ने घोषणा गरेको छ ।

उक्त पुरस्कार यही चैत २० गते हुने ५८ औं राष्ट्रिय सहकारी दिवसका दिन प्रदान गरिने छ ।

कार्यक्रममा राष्ट्रिय सहकारी सङ्घका पूर्वअध्यक्ष दीपकप्रकाश बाँस्कोटा, सङ्घका उपाध्यक्ष एवम् सभासद् ओमदेवी मल्ल, राष्ट्रिय सहकारी सङ्घका वरिष्ठ उपाध्यक्ष मीनराज कँडेल, सङ्घका सल्लाहकार गणेश साहलगायतले सरकारले सहकारीलाई प्राथमिकताका साथ अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया