गृहिणीलाई निःशुल्क कम्युटर शिक्षा सुरु

इनेप्लिज २०७१ फागुन २५ गते ३:२० मा प्रकाशित

ratnechaur-comगाईघाट (उदयपुर), २५ फागुन । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–२ स्थित गाईघाटको सङ्गमटोल क्षेत्रका २६० जना गृहिणीलाई आइतबारदेखि औपचारिक रुपमा एक वर्षको निःशुल्क कम्प्युटर शिक्षासम्बन्धी तालिम प्रदान गर्ने कार्य सुरु भएको छ ।

आयोजक सङ्गम पुस्तकालय सङ्गमटोल गाईघाटको आयोजनामा र सहयोगी संस्था नेपाल लाइबे्ररी फाउन्डेसनको सहयोगमा सङ्गमटोलका महिलालाई उक्त निःशुल्क कम्प्युटर शिक्षासम्बन्धी तालिम सुरु गरिएको सङ्गम पुस्तकालय गाईघाटका उपाध्यक्ष भरत खड्काले बताउनुभएको छ ।

सुरुमा छ महिनासम्म सबै महिलालाई आधारभूत कम्प्युटर तालिम तथा शिक्षा प्रदान गर्ने लक्ष्य रहेको सङ्गम पुस्तकालय गाईघाटले बताएको छ । छ महिनापछि सबै शिक्षार्थीमध्येबाट २० उत्तम गृहिणीलाई छनोट गरेर कम्प्युटर सम्बन्धित माथिल्लो तहको तालिम प्रदान गरिने र बाँकी तीन महिनामा कम्प्युटरसम्बन्धी विशिष्ट तालिम प्रदान गरिन लागेको पनि आयोजकले बताएको छ ।

एक वर्षपछि २० गृहिणीलाई कम्युटर सम्बन्धित स्थानीय नगरपालिका, जिल्ला विकास समितिलगायत वैदेशिक रोजगारीमा समेत सहभागिता गराउने लक्ष्यका साथ उक्त निःशुल्क कम्युटर शिक्षासम्बन्धी तालिम सुरु गरिएको उपाध्यक्ष खड्काले बताउनुभयो ।

तालिमको उद्घाटन गर्दै पूर्व विज्ञान प्रविधि तथा वातावरण मन्त्री गणेश साहले सूचना प्रविधिको पहुँच ग्रामीण तहसम्म लैजान यसमा महिलाको सहभागिता आवश्यक रहेको बताउनुभयो ।

उक्त कार्यक्रम सञ्चालन गर्न नेपाल लाइबे्ररी फाउन्डेसनबाट १६ वटा कम्युटर प्रदान भएको र प्रशिक्षकसहित तलबको पनि फाउन्डेसनले नै व्यवस्था गरेको आयोजकले बताएको छ ।

प्रतिक्रिया