सहमतिका नाममा संविधानसभालाई बन्धक बनाउन नमिल्ने

इनेप्लिज २०७१ फागुन २४ गते १५:३१ मा प्रकाशित

ramchandra-paudelकपिलवस्तु, २४ फागुन । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले वर्तमान संविधानसभाबाटै संविधान जारी गरी मुलुकलाई निकास दिन नेपाली काँग्रेसको नेतृत्वमा सबै राजनीतिक दलको सहमति र सहकार्यको आवश्यकता रहेको बताउनुभएको छ ।

नेपाली काँग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा कपिलवस्तुको तौलिहवामा सुरु भएको काँग्रेसको समावेशी महाधिवेशन प्रतिनिधिका लागि तीनदिने प्रशिक्षणको उद्घाटन गर्दै उहाँले सहमतिका नाममा अब पनि संविधानसभालाई बन्धक बनाउन सकिँदैन, सके सहमतिमा नभए बहुमतीय प्रणालीबाट संविधान जारी हुनेछ भन्नुभयो ।

नेपाली काँग्रेस नेता बालकृष्ण खाँणले सहमतिको वातावरण बन्नै नसके बहुमतबाटै संविधान जारी गर्नुपर्ने काँग्रेसको बाध्यता रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता दीपकुमार उपाध्याय, चन्द्र भण्डारी, कृष्णचन्द्र नेपाली, दीपक गिरीलगायतले सम्बोधन गर्नुभएको थियो ।

तीन दिनसम्म चल्ने सो प्रशिक्षणमा राप्ती र लुम्बिनी अञ्चलका ११ जिल्लाका २५० महाधिवशेन प्रतिनिधिको सहभागिता रहेको छ ।

प्रतिक्रिया