मंगलबार, कार्तिक ११ २०७७
काठमाडौं ०६:१४
वासिङटन डिसी 20:29

दुर्घटनाग्रस्त टर्किस एयरलाइन्सको विमान पार्किङस्थल लैजाने तयारी

इनेप्लिज २०७१ फागुन २४ गते ५:०९ मा प्रकाशित

Rss_Images_1425727804123_Pro_Ktm_ Airport ma Tuirkash Air (2)काठमाडौँ, २४ फागुन । चार दिनको अनवरत प्रयासपछि धावनमार्गबाट पन्छाइएको दुर्घटनाग्रस्त टर्किस एयरलाइन्सको विमानलाई पार्किङस्थल लैजाने तयारी भइरहेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग नजिक धस्सिएको जहाजलाई तानेर शनिबार साँझ करिब ७ बजे पार्किङस्थल नजिक आन्तरिक विमानस्थल अगाडि पुर्‍याइएको थियो । १५० स्वदेशी तथा विदेशी प्राविधिक र ५०० भन्दा बढी विभिन्न सुरक्षा निकायका जनशक्ति तथा विभिन्न उपकरणको सहयोगमा दुर्घटनाग्रस्त जहाजलाई तानिएको हो ।

विमान पन्छाएर धावनमार्ग खुलेपछि शनिबार राति ९ बजेदेखि अन्तर्राष्ट्रिय उडान नियमित भइरहेको विमानस्थलले जनाएको छ । विमानस्थलका प्रबन्धक पूर्णप्रसाद चुडालका अनुसार टर्किस एयरलाइन्सको विमानलाई विमानस्थलको पूर्वपट्टिको हेलिप्याडतर्फ पु¥याउनका लागि प्राविधिकले तयारी गरिरहेका छन् । त्यसका लागि अहिले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक रतीशचन्द्रलाल सुमनसहितका पदाधिकारी र प्राविधिकबीच बैठक बसिरहेको छ ।

टर्किस एयरलाइन्सको जहाजलाई पार्किङस्थलमा पुर्‍याएर मात्र त्यसको प्राविधिक परीक्षण तथा मर्मतको काम सुरु हुने प्रबन्धक चुडालले जानकारी दिनुभयो । उक्त एयरलाइन्सका सात प्राविधिक शनिबार दिउँसो काठमाडौँ आइपुगेको र आज साँझसम्म अन्य प्राविधिक तथा कर्मचारी पनि आइपुग्ने उहाँले बताउनुभयो ।

अवरुद्ध विमानस्थल सञ्चालनमा आए पनि गन्तव्यको पर्खाइमा बसेका सयौँ यात्रु निकै उत्साहका साथ विमानस्थलमा पुगेका देखिन्थे । चार दिनसम्म उडान नहुँदा विभिन्न समस्यामा परेका यात्रुले आफूहरुले राहत महसुस गरेको बताए । आइतबार बिहानै एयर एसियाबाट मलेसिया जान लागेका भोजपुरका अनिल अधिकारीले विमानस्थलका प्रस्थान प्रवेशकक्षमा लामबद्ध अवस्थामा खुसी हुँदै भन्नुभयो–“एक हप्तादेखि काठमाडौँको निस्सासिँदो र पीडादायक बसाइबाट अब बल्ल मन आनन्दित भएको छ ।” चार दिनसम्म विमानस्थल अवरुद्ध हुँदा २१ हजारभन्दा बढी यात्रु रोकिएर अलपत्र अवस्थामा थिए ।

प्रतिक्रिया