धार्मिक पर्यटन महोत्सव सुरु

इनेप्लिज २०७१ फागुन २४ गते ४:५० मा प्रकाशित

imagesभीमदत्तनगर, २४ फागुन । डडेल्धुराको परशुराम नगरपालिकास्थित जोगबुढामा शनिबारदेखि भित्री मधेस कृषि पर्यटन व्यापार मेला तथा सांस्कृतिक महोत्सव सुरु भएको छ ।

‘लालढुङ्गा व्यवस्थित बजारको निर्माण, व्यापार कृषि र पर्यटन हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ सञ्चालन भएको महोत्सवको सभासद् नरभान कामीले उद्घाटन गर्नुभयो । लालढुङ्गा बजारको विकासका साथै कृषिको विकास र पर्यटन प्रवद्र्धनका लागि महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ ।

महोत्सवमा कृषि वस्तु, घरेलु उद्योग र हस्ताकलाका सामग्री, स्थानीय खानाका परिकार, विश्वकै सबैभन्दा अग्लो चरा अस्ट्रिच, बाल उद्यान, कृषि प्रदर्शनीलगायत १५० कक्षसमेत राखिएको आयोजक उद्योग वाणिज्य सङ्घ जोगबुढा र परशुराम नगरपालिकाले जनाएका छन् ।

यसैबीच बैतडीमा आगामी वैशाख ११ देखि २१ गतेसम्म पहिलो पटक धार्मिक पर्यटन एवम् औद्योगिक महोत्सव आयोजना गरिने भएको छ । नेपाल उद्योग परिसङ्घ सिएनआई कञ्चनपुर कैलाली शाखाको मुख्य आयोजना र नेपाल उद्योग परिसङ्घ, उद्योग, कृषि विकास, वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल पर्यटन बोर्ड एवम् जिविस तथा दशरथ चन्द नगरपालिकाको सहआयोजनामा महोत्सव हुन लागेको हो ।

प्रतिक्रिया