मंगलबार, मंसिर १६ २०७७
काठमाडौं ०९:१२
वासिङटन डिसी 22:27

संविधानमा महिलाका अधिकार संरक्षण गरिने: नेता नेपाल

इनेप्लिज २०७१ फागुन २३ गते १५:४७ मा प्रकाशित

madhav-nepal1काठमाडौँ, २३ फागुन । नेकपा(एमाले) का नेता माधवकुमार नेपालले अब बन्ने संविधानमा महिलाका अधिकारलाई संरक्षण गर्नुपर्नेमा जोड दिनुभएको छ ।

एक सय पाँचौँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा मोतीदेवी स्मृति केन्द्रद्वारा आज यहाँ आयोजित कार्यक्रममा नेता नेपालले मुलुकमा भएका विभिन्न आन्दोलनमा महिलाको सहभागिता उल्लेख्य रहेको भएपनि उनीहरूले अझै पूर्णरुपमा समान अधिकार प्राप्त गर्न नसकेको बताउनुभयो ।

उहाँले राज्यको प्रत्येक निकायमा महिलाको प्रतिनिधित्व सुनिश्चित गराउन सकेमा मात्र नीति निर्माणमा उनीहरूको सशक्त भूमिका हुने उल्लेख गर्दै हालकै संविधानसभाबाट लोकतान्त्रिक संविधान चाँडोभन्दा चाँडो जारी गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

सो अवसरमा नेता नेपालले ‘प्रेरणादायी महिलाहरू’ पुस्तकको विमोचन गर्नुभयो । पुस्तकमा विभिन्न समयका समाजमा रहेका कुरीति र कुपरम्परालाई तोड्न १५ महिलाले गरेका सङ्घर्षलाई प्रस्तुत गरिएको छ ।

जसमा मोतीदेवी श्रेष्ठ, योगमाया, द्वारिकादेवी ठकुरानी, रेवन्तकुमारी आचार्य, कामाक्षादेवी राणा(बस्नेत), साधना अधिकारी, मङ्गलादेवी सिंह, सहाना प्रधान, नानीमैया नकर्मी, कनकलता बज्राचार्य, स्नेहलता ओन श्रेष्ठ, इन्दिरा चापागाई, लीला कोइराला र शैलजा आचार्यको जीवन कथा रहेको छ ।

केन्द्रका अध्यक्ष अष्टलक्ष्मी शाक्यले केन्द्रले रु एक लाख ५० हजारको अक्षय कोष स्थापना गरेको जानकारी दिनुभयो ।

कार्यक्रममा समाज रुपान्तरणमा योगदान पु¥याएको भन्दै वेदव्यास ज्येष्ठ नागरिक आवासका अध्यक्ष सावित्री श्रेष्ठलाई रु दश हजारसहित सम्मान गरियो । महिलाले शव उठाउन नहुने परम्परालाई तोड्दै तनहुँको व्यास नगरमा उहाँसहितका महिलाले शव उठाएर जलाउने काम गरेका थिए ।

राणाशासन विरोधी आन्दोलनमा लाग्नुभएकी मोतीदेवीले आफू आन्दोलनमा जाँदा घरमा श्रीमान्ले अर्कै श्रीमती ल्याएपछि बहुविवाहलाई प्रोत्साहन दिनु हुँदैन भन्दै घर छाडेर पार्टीको काममा निस्किनुभएको थियो । उहाँ नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महिला सदस्य पनि हुनुहुन्छ ।

नयाँ वर्षमा देशले निकास पाउँछ: नेता नेपाल

यसैगरी नेता नेपालले नयाँवर्षको आगमनसँगै देशले निकास पाउने बताउनुभएको छ ।

आज भक्तपुरको गठ्ठाघरस्थित सिभिएम सेकेन्डरी स्कुलको अभिभावक दिवसका अवसरमा आयोजित कार्यक्रममा उहाँले नयाँ वर्षसँगै नयाँ सोच, नयाँ चिन्तनका साथ देशले निकास पाउने उल्लेख गर्नु भयो ।

सङ्घीयताका विवादित विषयमा देशको भौगोलिक अखण्डता, जातीय एकतामा खलल नपुग्ने गरी जनताको चाहनालाई सम्बोधन गर्नेगरी यो विषयलाई टुङ्गोमा पु¥याउनुपर्ने नेता नेपालले बताउनुभयो ।

प्रतिक्रिया