शनिबार, कार्तिक १५ २०७७
काठमाडौं ००:४३
वासिङटन डिसी 14:58

मालीको रेष्टुरेन्टमा तीन युरोपेलीसहित पाँचको हत्या

इनेप्लिज २०७१ फागुन २३ गते १५:३४ मा प्रकाशित

IMG_3352

बामाको, २३ फागुन । मालीको राजधानी सहरमा अवस्थित एक रेष्टुरेन्टमा गएराति एक अज्ञात बन्दुकधारीले गोलीहानी तीनजना युरोपेली नागरिकसहित कम्तीमा पनि पाँच जनाको हत्या गरेको समाचार छ ।
स्थानीय सञ्चारमाध्यमहरुले सो समाचारको पुष्टि गरेका छन् । ती सञ्चारकाअनुसार निकै व्यस्त रहने सो रेष्टुरेन्टमा भएको गोलीकाण्डमा परी रेष्टुरेन्टमा खाना खान गएका ग्राहक मारिएका हुन् ।
मालीको राजधानी सहर बामाकोमा मध्यरातितिर खाना खाई बसेका नागरिकमाथि एकजना बन्दुकधारीले अन्दाधुन्ध गोली प्रहार गरेको थियो ।
सो गोली लागि तीनजना युरोपेली नागरिकसहित स्थानीय गरी पाँचजनाको ज्यान गएको बताइएको छ । सो आक्रमणको जिम्मेवारी कसैले लिएको छैन ।
मालीको सुरक्षा निकायले भने सो आक्रमण आतङ्ककारीले गरेको जनाएको छ । प्रहरीले आतङ्ककारी समूहकै व्यक्तिले सो हत्या गरेको प्रहरीको भनाई छ ।
अहिलेसम्म आक्रमणमा सम्लग्नलाई पक्राउ गरिएको छैन । एक स्थानीय प्रहरी अधिकारीले भनेका छन्– यो आतङ्ककारी हमला नै हो हामीले यस बारेमा अनुसन्धान थालिसकेका छौँ ।
सो आक्रमणमा परी मारिनेमा एकजना फ्रान्सेली र अर्का बेल्जियमका नागरिक रहेका छन् । अर्का एकजना विदेशीको बारेमा भने प्रहरीले केही भनेको छैन ।
मारिनेमा एकजना प्रहरी अधिकारी पनि छन् । उक्त रेष्टुरेन्ट भएर गइरहेका ती प्रहरी अधिकारी पनि आक्रमणकारीको निसाना बन्न पुगेका थिए ।
आक्रमण कायरतापूर्ण– राष्ट्रपति ओल्याण्ड
यसैबीच फ्रान्सेली राष्ट्रपति फ्रासाँ ओल्याण्डले सो आक्रमण कयरातपूर्ण भएको बताउनुभएको छ ।
शनिबार बिहान उहाँले एक विज्ञप्तिमार्फत उक्त आक्रमणलाई कायरतापूर्ण भनी टिप्पणी गर्नुभएको हो । सो आक्रमणमा फ्रान्सेली नागरिक पनि परेकोमा उहाँले दुःख व्यक्त गर्नुभएको छ ।
राष्ट्रपति ओल्याण्डले आफुले छिट्टै मालीका राष्ट्रपति इब्राहिम बाउबाकर केइतालाई भेटगरी आतङ्कवादीका विरुद्धका लागि सहयोग उपलब्ध गराउने प्रतिवद्धता सो विज्ञप्तिमा व्यक्त गर्नुभएको छ । रासस÷एएफपी

प्रतिक्रिया