शनिबार सार्थक संवाद गरिने
काठमाडौँ, २२ फागुन । प्रधानमन्त्री सुशील कोइराला र एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालबीच संविधान निर्माण प्रक्रियालाई सहमतिका आधारमा अगाडि बढाउनका लागि सार्थक संवाद गर्ने विषयमा कुराकानी भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा शनिबार बिहान सत्तारुढ दल र विपक्षी मोर्चाकाबीचमा छलफल गर्ने सहमति भएको छ । गत माघ ११ गते संविधानसभाले प्रस्ताव समिति गठन गरेपछि दुई ध्रुवमा विभाजित सत्तारुढ दल र विपक्षी दलबीच सार्थक संवाद हुन सकेको थिएन ।
पछिल्ला दिनमा दलबीच अनौपचारिक संवाद भए पनि औपचारिक संवाद हुन सकेको थिएन । पटक पटकको अनौपचारिक संवाद पछि दलहरु सामूहिक वार्ताका लागि तयार भएका हुन् । एमाओवादी अध्यक्ष दाहालका प्रमुख स्वकीय सचिव चूडामणि खड्काका अनुसार शनिबार संविधान निर्माणका विषयमा साझा धारणा बनाउनका लागि संयुक्त छलफल गर्ने सहमति भएको छ ।
गणतन्त्र दिवसमा संविधान आउने !
बिहीबार मात्रै एमाओवादी नेतृत्वको तीसदलीय मोर्चाले औपचारिक संवाद गर्ने निर्णय गरेको थियो । मोर्चाको संयुक्त निर्णयका आधारमा आज प्रधानमन्त्री कोइरालासँग अध्यक्ष दाहालले संवाद गर्नुभएको हो । प्रमुख दलबीच संविधानका प्रमुख विवादित विषयमा सहमति नहुँदा गत माघ ८ गते संविधान जारी गर्ने भनिए पनि सफल हुन सकेको थिएन । दलबीच अनौपचारिक रुपमा आगामी जेठ १५ गते गणतन्त्र दिवसको दिन संविधान जारी गर्ने गरी छलफललाई अगाडि बढाइएको छ ।
दलबीच शासकीय स्वरुप तथा निर्वाचन र न्याय प्रणालीमा सैद्धान्तिक सहमति भइसकेको छ भने राज्य पुनःसंरचनाका विषयमा सहमति हुन सकेको छैन । संविधानसभाको गत माघ २९ गतेको बैठकमा प्रस्ताव समितिको प्रतिवेदन पेस भए पनि सहमतिमा नै अगाडि बढ्ने भन्ने ध्येयका साथ बैठकलाई अनिश्चितकालसम्म स्थगन गरिएको थियो ।
बहुमतीय प्रक्रिया खारेजीको माग गर्दै आएको एमाओवादी मोर्चा र सहमति हुन नसके बहुमतीय प्रक्रियाका आधारमा अगाडि बढ्ने भन्ने सत्तारुढ दलबीच सहमति हुन नसक्दा लामो समयसम्म दलबीच सार्थक संवाद हुन सकेको थिएन । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले दललाई तत्काल संवाद सुरु गर्न आग्रह गर्दै आउनुभएको छ ।
यही सन्दर्भमा प्रधानमन्त्री कोइराला र एमाओवादी अध्यक्ष दाहालबीच संवाद भएको हो । ‘‘आजको संवाद महत्वपूर्ण भयो, दलबीच पुनःसहमतिका आधारमा अगाडि बढ्ने विश्वास पैदा भएको छ ।’’ नेता दाहालको भनाइ उद्धृत गर्दै एमाओवादीका केन्द्रीय सदस्य खड्काले जानकारी दिनुभयो ।
अमेरिकाको केन्टकीमा बन्धुकधारीको आक्रमणबाट २ प्रहरीहरुको मृ्त्यु
अमेरिकाको केन्टकीमा गोली चल्दा कैयौं प्रहरी अधिकारी घाइते: १ जना मारिए ,संदिग्ध पक्राउ
अमेरिका नेपाल सहयोगी समाजको वनभोज कार्यक्रम सम्पन्न
युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिका (डिएमभिपी) च्याप्टरको दोस्रो भेला साकेला नाच्दै सम्पन्न
वाशिंगटनमा पहिलो लखः चैत्य पुजा ब्रत
प्रतिक्रिया