आइतबार, कार्तिक ९ २०७७
काठमाडौं १३:३२
वासिङटन डिसी 03:47

सरकार र ३० दलबीच शनिबार सार्थक वार्ता हुने

इनेप्लिज २०७१ फागुन २२ गते ९:१० मा प्रकाशित

sushil-prachandaकाठमाडौँ, २२ फागुन । प्रधानमन्त्री सुशील कोइराला र एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालबीच संविधान निर्माण प्रक्रियालाई सहमतिका आधारमा अगाडि बढाउनका लागि सार्थक संवाद गर्ने विषयमा कुराकानी भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा शनिबार बिहान सत्तारुढ दल र विपक्षी मोर्चाकाबीचमा छलफल गर्ने सहमति भएको छ । गत माघ ११ गते संविधानसभाले प्रस्ताव समिति गठन गरेपछि दुई ध्रुवमा विभाजित सत्तारुढ दल र विपक्षी दलबीच सार्थक संवाद हुन सकेको थिएन ।

पछिल्ला दिनमा दलबीच अनौपचारिक संवाद भए पनि औपचारिक संवाद हुन सकेको थिएन । पटक पटकको अनौपचारिक संवाद पछि दलहरु सामूहिक वार्ताका लागि तयार भएका हुन् । एमाओवादी अध्यक्ष दाहालका प्रमुख स्वकीय सचिव चूडामणि खड्काका अनुसार शनिबार संविधान निर्माणका विषयमा साझा धारणा बनाउनका लागि संयुक्त छलफल गर्ने सहमति भएको छ ।

– गणतन्त्र दिवसमा संविधान आउने !

बिहीबार मात्रै एमाओवादी नेतृत्वको तीसदलीय मोर्चाले औपचारिक संवाद गर्ने निर्णय गरेको थियो । मोर्चाको संयुक्त निर्णयका आधारमा आज प्रधानमन्त्री कोइरालासँग अध्यक्ष दाहालले संवाद गर्नुभएको हो । प्रमुख दलबीच संविधानका प्रमुख विवादित विषयमा सहमति नहुँदा गत माघ ८ गते संविधान जारी गर्ने भनिए पनि सफल हुन सकेको थिएन । दलबीच अनौपचारिक रुपमा आगामी जेठ १५ गते गणतन्त्र दिवसको दिन संविधान जारी गर्ने गरी छलफललाई अगाडि बढाइएको छ ।

दलबीच शासकीय स्वरुप तथा निर्वाचन र न्याय प्रणालीमा सैद्धान्तिक सहमति भइसकेको छ भने राज्य पुनःसंरचनाका विषयमा सहमति हुन सकेको छैन । संविधानसभाको गत माघ २९ गतेको बैठकमा प्रस्ताव समितिको प्रतिवेदन पेस भए पनि सहमतिमा नै अगाडि बढ्ने भन्ने ध्येयका साथ बैठकलाई अनिश्चितकालसम्म स्थगन गरिएको थियो ।

बहुमतीय प्रक्रिया खारेजीको माग गर्दै आएको एमाओवादी मोर्चा र सहमति हुन नसके बहुमतीय प्रक्रियाका आधारमा अगाडि बढ्ने भन्ने सत्तारुढ दलबीच सहमति हुन नसक्दा लामो समयसम्म दलबीच सार्थक संवाद हुन सकेको थिएन । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले दललाई तत्काल संवाद सुरु गर्न आग्रह गर्दै आउनुभएको छ ।

यही सन्दर्भमा प्रधानमन्त्री कोइराला र एमाओवादी अध्यक्ष दाहालबीच संवाद भएको हो । ‘‘आजको संवाद महत्वपूर्ण भयो, दलबीच पुनःसहमतिका आधारमा अगाडि बढ्ने विश्वास पैदा भएको छ ।’’ नेता दाहालको भनाइ उद्धृत गर्दै एमाओवादीका केन्द्रीय सदस्य खड्काले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया