सोमबार, कार्तिक १० २०७७
काठमाडौं २२:३६
वासिङटन डिसी 12:51

भव्य र सभ्य बन्दै होली, विगतमा भन्दा सुरक्षा व्यवस्था प्रभावकारी

इनेप्लिज २०७१ फागुन २१ गते १४:२० मा प्रकाशित

img_7052काठमाडौँ, २१ फागुन । विगतका वर्षमा भन्दा यस वर्षको होली भव्य र सभ्य बन्दै गएको छ ।

होली संस्कृतिका नाममा विकृतिको क्रम बढीरहँदा होलीप्रति नै वितृष्णाभाव उत्पन्न हुनथालेको अवस्थामा राजधानीमा यस वर्षको होलीको वातावरणमा विगतमा भन्दा निकै सुधार देखिएको छ ।

होलीलाई लक्षित गरी गरिएको प्रभावकारी सुरक्षा व्यवस्थाका कारण पनि होलीका नाममा विकृति निम्त्याउन खोज्नेलाई सहज वातावरण बन्न सकेन ।

तथापि, राजधानीका विभिन्न स्थानबाट साँझ ५ः०० बजेसम्म १०६ जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

होली मनाउने नाममा मादकपदार्थ सेवन गरी चलाइएका ५०० मोटरसाइकल तथा नौवटा कारलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रवक्ता नारायणसिंह खड्काले जानकारी गराउनुभयो ।

होली सुरु हुनुभन्दा पाँच/सातदिन अगावै उपत्यकामा सामान्य हिँडडुलका लागि पनि समस्या भोग्नेगरेका सर्वसाधारण यस वर्ष भने त्यो क्रम निकै कम भएको बताउँछन् ।

विशेष गरी महिलावर्गलाई हिँडडुल गर्न असहज हुने गरेकोमा यस वर्ष भने होलीकै दिन पनि जवर्जस्ती लोला हान्ने, पानी छ््याप्नेजस्ता घटना कम भएको काठमाडौँ न्युरोडकी नेहा शाक्यले बताउनुभयो ।

“पहिलेकोभन्दा यस वर्षको होली राम्रो भएको छ । सुरक्षाकर्मीको पनि राम्रो परिचालन भएको छ,” उहाँले भन्नुभयो ।

विगतका वर्षहरुमा भन्दा यस वर्ष उपत्यकामा होलीका नाममा हुने गरेका विकृतिहरु निकै कम भएको सबैले महसुस गरेका छन् ।

“जवरजस्तीका घटना नहुँदा होली रमाइलो बनेको छ । एक आपसमा खुसीयाली साटेर मनाउने यो चाड सबैले भव्य र सभ्यरुपमा मनाउनुपर्छ,” तुलसीपुर नगरपालिका–६ रजौरा घर भई काठमाडौँको त्रिचन्द्र क्याम्पसमा वीएस्सी तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी राजेश डाँगीले भन्नुभयो ।

विगतका वर्षमा जस्तो एउटै मोटरसाइकलमा तीन–तीन जनासम्म चढ्ने, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउनेजस्ता घटना यस वर्ष धेरै देख्नु नपरेको उहाँको भनाइ छ ।

यस वर्ष सार्वजनिक सवारीसाधन विगतका वर्षमाभन्दा बढी नै चलेका कारण आवतजावत गर्नेले पनि ठूलै राहत महसुस गरेका थिए ।

डाँगीजस्तै बारा निजगढ घरभई हाल स्वयम्भूमा वस्दै आएका गणेश दंगालको पनि यस वर्षको होली निकै राम्रो भएको धारणा छ ।

होली मनाउने क्रममा काठमाडौँको वसन्तपुरमा भेटिएका दंगालले भन्नुभयो, “संस्कृतिलाई राम्रोसँग मनाउनुपर्छ । प्रत्येक युवा÷युवती मिलेर खेल्नुपर्छ । सरकारले पनि यस्तै किसिमको सुरक्षा व्यवस्था अरु वर्ष पनि गर्नुपर्छ ।”

काठमाडौँको नयाँ बानेश्वरका कुमार हुमागाँई पनि यस वर्षको होली विगत भन्दा धेरै सुधारिएको बताउनुहुन्छ ।

संस्कृतिलाई भव्यताका साथ मनाइनुपर्ने बताउँदै उहाँले प्रत्येक व्यक्तिले आफूआफूबाटै सुधारको प्रयास गर्नुपर्ने उहाँको धारणा छ ।

राजधानीका विभिन्न स्थानमा सामुहिक होली पनि उत्साहजनकरुपले मनाइएको देखिन्थ्यो ।

‘वसन्तपुरका रङ्गहरु’ नाम दिइएको वसन्तपुरको होलीको विशेष समारोहमा विदेशी पर्यटक पनि नेपाली होलीको स्वाद लिँदै उत्साहपूर्णरुपमा रङ्ग दलेर रमाएका देखिन्थे ।

रङ्ग विरङ्ग दलेर सामुहिक तवरले विभिन्नरुपमा तस्विर खिचाउने क्रम पनि हेर्न लायक देखिन्थ्यो ।

टुँडिखेलमा आयोजित होलीको विशेष समारोहमा युवा÷युवती दिनभर नै साङ्गीतिक माहौलमा रमेका देखिन्थे भने राजधानीका सडकमा नेपालको राष्ट्रिय झण्डा लिएर ‘ह्याप्पी होली’ भन्दै हिँडेका दृश्य पनि निकै रोचक देखिन्थे ।

टुँडिखेलमा मारवाडी सेवा समितिले होलीका दहन कार्यक्रम पनि आयोजना गरेको थियो ।

पोखरा– नेपाल ट्रेड युनियन काँग्रेसको ६९औं स्थापना दिवस तथा होलीको अवसरमा नेपाल ट्रेड युनियन काँग्रेस कास्की र नेपाल यातायात मजदूर सङ्घको संयुक्त आयोजनामा आज यहाँ आयोजित फागुपूर्णिमा कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले संविधानसभाले बनाएको प्रश्नावली खारेज गर्नुपर्छ भन्नु नै संविधान बनाउन नखोज्नु हो भन्नुभयो ।

कार्यक्रम नेपाल ट्रेड युनियन काँग्रेसका वरिष्ठ उपाध्यक्ष रामजी कुँवरले मजदूरहरुको सामाजिक सुरक्षा कोष स्थापनाका लागि युनियनले पहल गरिरहेको जानकारी दिनुभयो ।

सभासदद्वय शारदा पौडेल र विन्दादेवी रानाले प्रकृयाको ढोका खुला रहेकोले यसको माध्यमबाट अवश्य नै नेपाली जनताले संविधान पाउने विश्वास दिलाउनुभयो ।

कार्यक्रममा कास्की काँग्रेसका सचिव कृष्ण केसी, प्रशिक्षण विभागका सदस्य देवराज चालिसे, युनियनका क्षेत्रीय सभापति मुरारी शर्मा, काँग्रेस नेता शुक्रराज शर्मा, खेमराज पौडेल, प्रेस युनियन जिल्ला अध्यक्ष शिरोमणी बराललगायतका वक्ताले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया