जिविसको बोर्ड बैठकमा कुर्सी हानाहान

इनेप्लिज २०७१ फागुन २० गते १४:१३ मा प्रकाशित

Bajhang_district_locationबझाङ, २० फागुन । तिन दिनदेखि लगातार चलेको जिल्ला परिषद्को योजना बाँडफाँडका लागि बसेको जिविसको बोर्ड बैठकमा कुर्सी हानाहान भएको छ ।

योजना बाँडफाँडको बैठकमा लक्ष्यित वर्गलाई बाहिर निकाल्न खोज्दा जिल्ला विकास समितिका कर्मचारी र अपाङ्ग सञ्जालका अध्यक्ष रमेस जेठाराबीच कुर्सी हानाहान भएको हो ।

जिल्ला विकास समितिको बोर्ड बैठक चलिरहेको बेला जिल्ला अपाङ्ग सञ्जालका अध्यक्ष जेठारा, महिला अधिकार मञ्चकी अध्यक्ष उमा केसी र अन्तर पार्टी महिला सञ्जालकी प्रतिनिधि शान्ति नेपालीलाई बैठकबाट बाहिर निकालिएको थियो ।

जिल्ला विकास समितिका कार्यालय सहयोगीदेखि अधिकृतसम्मका सम्पूर्ण कर्मचारी योजना बाँडफाँडको बैठकमा बसेका र जिल्लाका सम्पूर्ण अपाङ्गको प्रतिनिधि भएर गएको बैठकमा बस्दा आफूलाई बाहिर निकालिएको अपाङ्ग सञ्जालका अध्यक्ष जेठाराले बताउनुभयो ।

जिविसको बोर्ड बैठकमा बसेका जिविसका कर्मचारी पनि बाहिर जानुपर्ने आवाज उठाउँदा कर्मचारीले हातपात गरेको उहाँको भनाइ छ ।

जिल्ला विकास समितिबाट विनियोजन हुने रकम लक्ष्यित वर्गमा नपुगेको र पहुँचवालाले मात्र योजना पाउने गरेको हुँदा आफ्नो माग राख्न महिला अधिकार मञ्चका अध्यक्ष, अन्तरपार्टी महिला सञ्जालका प्रतिनिधि र सञ्चारकर्मीलाई बैठकमा बस्न रोक लगाइएको थियो ।

दुईदिन सम्म चल्ने भनिएको जिल्ला विकास समितिको बोर्ड बैठक योजना बाँडफाँडमा विवाद भएका कारण तीन दिन बितिसक्दासमेत सम्पन्न भएको छैन ।

जिविस सभाहलमा भएको बैठकमा जिविसका कर्मचारीहले ‘भित्र जाने अनुमति नभएको’ भन्दै लक्ष्यित वर्गलाई प्रवेशमा रोक लगाएका थिए ।

योजना बाँडफाँडमा साना दल र लक्ष्यित वर्गलाई उपेक्षा गरी ठूला दलको मात्र हालिमुहाली भएको भन्दै राष्ट्रिय जनमोर्चाका जिल्ला कोषाध्याक्ष कर्णबहादुर धामीले आपत्ति जनाउनुभयो । उहाँले भन्नुभयो, “प्रमुख राजनीतिक दल तथा जिविसका कर्मचारीले कमिसनका भरमा योजना वितरण गर्ने हुँदा पहुँच नभएकालाई योजना पाउन गाह्रो भएको छ ।”

योजना बाँडफाँडमा लक्ष्यित वर्ग, साना दल तथा सञ्चारकर्मीको आवाजलाई बेवास्ता गरी तीन दलको मात्र हालीमुहाली भएको पत्रकार महासङ्घका उपाध्यक्ष जगदिश रोकायाको भनाइ छ ।

जिविसमा विगत १४ वर्षदेखि जनप्रतिनिधि नहुदा योजना बाँडफाँडमा जिविसका कर्मचारीको हाली मुहाली बढेको सर्वसाधारणको बुझाइ छ ।

स्थानीय विकास अधिकारी चन्द्रकान्त न्यौपानेले जिविसमा बजेट थोरै र माग धेरै भएको हुँदा बोर्ड बैठकमा योजनाका लागि तछाडमछाड हुनु सामान्य भएको बताउनुभयो ।

प्रतिक्रिया