काठमाडौँ, १८ फागुन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खगराज अधिकारीले स्वाइन फ्लुको उपचारको लागि डेढ महिनालाई पुग्ने औषधि मौजदात रहेको बताउनुभएको छ ।
रिपोर्टर्स क्लब नेपालद्वारा आज यहाँ आयोजित साक्षात्कारमा उहाँले भन्नुभयो, “अहिले हामीसँग साढे सात हजार ट्याब्लेट छ, केही दिनमै १० हजार पुग्छ । बाँकी आवश्यक औषधि दिन डब्लुएचओले प्रतिबद्धता व्यक्त गरिसकेको छ । उपचारमा औषधिको कमी हुँदैन । ”
मन्त्रालयले सबै सरकारी र निजी अस्पताललाई स्वाइन फ्लु बिरामीको उपचार गर्न आइसुलेसन वार्ड बनाउन निर्देशन दिइसकेको जानकारी दिँदै उहाँले पाटन अस्पतालमा पाँच श्ययाकोे आइसुलेसन वार्ड सञ्चालनमा आइसकेको बताउनुभयो ।
पूर्वको काँकडभिट्टादेखि कञ्चनपुरसम्म तालिम प्राप्त प्राविधिकसहित हेल्थ डेस्कको स्थापना गरिसकिएको जानकारी गराउँदै मन्त्री अधिकारीले देशभरीका २५ स्थानबाट सङ्कलन भएका नमुना जनस्वास्थ्य प्रयोगशाला र पाटन प्रयोगशालामा परीक्षण गर्न सकिने उल्लेख गर्नुभयो ।
स्वाइन फ्लु नेपालको लागि नयाँ रोग नभएकाले डराउनुपर्ने आवश्यक नभएको भन्दै उहाँले भन्नुभयो, “अघिल्लो वर्ष ३०० जनामा यो रोग देखिएकामा यसवर्ष ४३ जनामात्रै रहेको छ । यो रोगको मृत्युदर एक प्रतिशत मात्रै छ । मिडियाले जनतामा सचेतता जगाएका छन् । यो राम्रो कुरा हो । रुघा लाग्ने वित्तिकै स्वाइन फ्लु भन्नु आवश्यक छैन ।”
उपचारको क्रममा हिजो मोडल अस्पतालमा मृत्यु भएकी महिला निमोनियाको फ्लोअप बिरामी रहेको जानकारी गराउँदै उहाँले दुबै लिभर कमजोर भइसकेकी उनलाई स्वाइन फ्लुले छिटो असर मात्र गरेको बताउनुभयो ।
रोगको प्रकोप नियन्त्रण गर्न सरकारसँग बजेटको अभाव नभएको र टेकुमा रहेको सरुवा रोग अस्पताललाई आवश्यक बजेट रकमान्तर गरेर पनि दिन सकिने उहाँको भनाइ छ ।
प्रतिक्रिया