मंगलबार, मंसिर १६ २०७७
काठमाडौं ११:४९
वासिङटन डिसी 01:04

काँग्रेस र एमालेबीच सहमति: वार्तासँगै संविधानसभा बैठक अघि बढाइने

इनेप्लिज २०७१ फागुन १८ गते ८:२७ मा प्रकाशित

congress-uml

काठमाडौँ, १७ फागुन । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा (एमाले)को आजको संयुक्त बैठकले विपक्षी दलसँग वार्ता जारी राख्ने र अनिश्चितकालका लागि स्थगित संविधानसभाको बैठक छिट्टै बोलाउनुपर्ने सहमति गरेका छन् ।

काँग्रेस र एमालेका शीर्ष नेताको आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संयुक्त बैठकले विपक्षी मोर्चाको मागबमोजिम संविधान निर्माणको प्रक्रिया स्थगन गरेर संविधानसभा बैठक पनि अनिश्चितकालका लागि स्थगित गरिए पनि मोर्चाका दलहरु वार्ताका लागि तत्पर नदेखिएका सम्बन्धमा समीक्षा भएको नेताहरुले बताएका छन् ।

बैठकमा प्रमुख विपक्षी दल एकीकृत नेकपा (माओवादी) नेतृत्वको मोर्चाले शनिबार राजधानीमा आयोजित आमसभामा दिएको अभिव्यक्तिका सम्बन्धमा छलफल गर्नाका साथै वार्तासँगै संविधानसभाका कामकारबाही पनि नियमित अघि बढाउने सहमति भएको एमाले उपाध्यक्ष भीमबहादुर रावलले बताउनुभयो ।

आफूहरु वार्ताका लागि खुला र तयार रहेको अवगत गराउँदै नेता रावलले विपक्षी दलको मागबमोजिम सर्त पूरा गरे पनि विपक्षीले वार्तामा आउन कुनै पहल नगरेको आरोप लगाउनुुभयो ।

गत माघ ५ संविधानसभामा विपक्षी दलबाट भएको तोडफोडको घटनापछि प्रमुख दलबीच द्विपक्षीय र बहुपक्षीय बैठक हुन नसकेका बेला आज प्रमुख दुई दलबीचको बैठकमा रोकिएको वार्ता र संविधानसभालाई सँगसँगै अघि बढाउने सम्बन्धमा सहमति भएको हो । बैठकमा रोकिएको वार्ता प्रक्रियालाई निरन्तरता दिने विषयमा सहमति भएको जानकारी गराउँदै कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिलामन्त्री नरहरि आचार्यले एमाओवादीलगायत दल एक दुई दिनमै वार्तामा आउने अपेक्षा व्यक्त गर्नुभयो ।

विपक्षी दलको मागबमोजिम यही फागुन १६ गतेसम्मका लागि संविधान निर्माण प्रक्रिया र संविधानसभाको बैठक स्थगन गरिएको भए पनि छिट्टै बैठक बोलाउने प्रक्रिया अघि बढाइने काँग्रेस नेता आचार्यको भनाइ छ ।

बैठकमा प्रधानमन्त्री तथा काँग्रेसका सभापति सुशील कोइराला, महामन्त्री कृष्णप्रसाद सिटौला, सहमहामन्त्री पूर्णबहादुर खड्का, मन्त्री एवम् केन्द्रीय सदस्यद्वय डा मीनेन्द्र रिजाल र आचार्य तथा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेता माधवकुमार नेपाल, उपाध्यक्षत्रय वामदेव गौतम, रावल र विद्यादेवी भण्डारी, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल उपस्थित हुनुहुन्थ्यो ।

प्रतिक्रिया