मंगलबार, कार्तिक ४ २०७७
काठमाडौं ०५:१४
वासिङटन डिसी 19:29

१२ बर्षपछि एमाले फर्केका राधाकृष्ण मैनाली भन्छन् – ‘ एमाओवादीको भीडमा उल्लु हुन गइन’

इनेप्लिज २०७१ फागुन १७ गते १७:३३ मा प्रकाशित

Radha-Krishna-Mainali

काठमाडौँ, १७ फागुन । नेकपा (एमाले) ले केन्द्रीय सदस्यमा आफूलाई मनोनयन गर्ने निर्णयलाई वामपन्थी नेता राधाकृष्ण मैनालीले बाह्र वर्षपछि पार्टीले सम्झिएको भन्दै स्वागत गर्नुभएकोे छ ।

एमालेको आजको स्थायी कमिटी बैठकले उहाँ र पूर्वनेता विजय सुब्बालाई मनोनयन गर्ने निर्णय गरेको थियो । सो निर्णयबारे प्रतिक्रिया दिँदै नेता मैनालीले आफू पहिलो संविधानसभापछि एमाओवादीमा प्रवेश गरे पनि त्यहाँ सन्तुष्ट नभएपछि स्वतन्त्र रहेको अवस्थामा पुरानो पार्टीले घर फर्काउनुलाई स्वागतयोग्य ठानेको बताउनुभयो ।

बाह्र वर्षअघि तत्कालीन राजा ज्ञानेन्द्र शाहको मन्त्रिमण्डलमा शिक्षामन्त्री बनेपछि एमालेले उहाँलाई पार्टीबाट हटाएको थियो । “एमाओवादीले ११० सदस्यीय सल्लाहकार समितिमा १११ औं सदस्य मलाई बनाएको थियो, त्यो भिडमा गएर म उल्लु हुन चाहिन, अब एमालेमा जे जिम्मेवारी पाइन्छ, त्यो ग्रहण गरेर बाँकी राजनीतिक जीवन बिताउनेछु ”, उहाँले भन्नुभयो ।

एमालेको नवौँ राष्ट्रिय महाधिवेशन अगाडि र पछि पनि पार्टीमा फर्कनका लागि आफूसँग नेताहरूको वार्ता भएको जनाउँदै उहाँले भन्नुभयो, “उहाँहरुले सँगै काम गरौँ भन्नुभएको छ, केन्द्रीय कमिटीमा रहे पनि सँगै हुन्छ, स्थायी कमिटीमा रहे पनि सँगै हुन्छ, बुढेसकालमा कति बार्गेनिङ गर्नु ?”

नेता मैनालीले एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगै झापा विद्रोहका समयमा लामो समय काराबास जीवन गुजार्नुभएको थियो ।

प्रतिक्रिया