शुक्रबार, कार्तिक ७ २०७७
काठमाडौं ०२:०८
वासिङटन डिसी 16:23

संविधान चाँडै निर्माण हुने: प्रधानमन्त्री कोइराला

इनेप्लिज २०७१ फागुन १७ गते १०:४४ मा प्रकाशित

vbk-26-Sushil_Koir_1733026fकाठमाडौँ, १७ फागुन । प्रधानमन्त्री सुशील कोइरालाले आम जनताले चाहेअनुरुपको संविधान चाँडै निर्माण हुने बताउनुभएको छ ।

काठमाडौँको बुढानिलकण्ठस्थित सुर्वण शमशेर स्मृति क्रिकेट स्टेडियमको आज शिलान्यास गर्दै उहाँले देशमा दिगो शान्ति स्थापनाका लागि संविधान आवश्यक भएको हुँदा यसको निर्माणमा लागिरहेको उल्लेख गर्नु भयो ।

प्रधानमन्त्री कोइरालाले उक्त क्रिकेट स्टेडियम पर्यटकीय स्थलमा रहेको हुँदा यसको समयमा नै निर्माण हुनसके पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नु भयो ।

त्यस्तै युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले उक्त स्टेडियम तयारीका लागि सरकारका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कानुन, न्याय संविधानसभा तथा संसदीय मामिलामन्त्री नरहरि आचार्यले बुढानिलकण्ठको स्थानीयवासीले त्यस क्षेत्रमा देखेको स्टेडियमको सपनालाई आफ्नोतर्फबाट सक्दो पहल गरी निर्माण गरेरै छाड्ने अठोट गर्नुभयो ।

यसैगरी वन तथा भू–संरक्षणमन्त्री महेश आचार्यले स्टेडियम निर्माणका लागि राज्य र आफ्नो पार्टीका तर्फबाट सक्दो पहल गर्ने बताउनुभयो ।

सभासद् गगन थापाले आम नेपालीलाई एकताको सूत्रमा बाँध्ने काम खेलकुद क्षेत्रले गर्ने भन्दै सम्भावना बोकेको क्रिकेट खेलको विकास र विस्तारका लागि सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले यस स्टेडियम निर्माणले नेपाली क्रिकेट टोलीमा खुसीयाली छाएको भन्दै सरकारले क्रिकेट खेलमा विशेष लगानी गर्नुपर्ने धारणा राख्नु भयो ।

सुर्वण शमशेर अध्ययन प्रतिष्ठानको आयोजनामा भएको उक्त कार्यक्रममा नेपाली टोलीका कप्तान खड्कालाई प्रधानमन्त्री कोइरालाले सम्मानसमेत गर्नुभएको थियो ।

बुढानिलकण्ठ नगरपालिकाको गाम्छामा अवस्थित उक्त क्रिकेट स्टेडियम ९५ रोपनी क्षेत्रफलमा निर्माण हुने भएको छ । उक्त स्टेडियम निर्माणका लागि करिब रु २५ करोड खर्च लाग्ने आयोजक सङ्घका अध्यक्ष धुव्र खड्काले जानकारी दिनुभयो ।

तीन वर्षको अवधिमा निर्माण पूरा गर्ने योजना रहेको अध्यक्ष खड्काले बताउनुभयो ।

प्रतिक्रिया