शनिबार, मंसिर १३ २०७७
काठमाडौं १६:२५
वासिङटन डिसी 05:40

अमेरिकामा नेपालीले नै नेपाली ठग्छन्

इनेप्लिज २०७१ चैत १७ गते १६:२० मा प्रकाशित

Binod-Roka

– विनोद रोका, न्यूयोर्कस्थित नेपाली अधिवक्ता

अमेरिकामा अद्यागमन सुविधा खोज्ने क्रममा नेपालीहरु समाजसेवी, नेता  र आफन्तबाटै ठगिने गरेको गुनासाहरु सुन्न पाइन्छ । आफन्तहरुको फेहरिस्तमा सगोत्रीदेखि लिएर जो कोही अरु पनि पर्न सक्छन् । तर, नेता र समाजसेवीमा भने को पर्दछन्, को पर्दैनन् छुट्याउन सकिदैन । आयोजक र पत्रपत्रिकाले सहयोग गर्ने अनि आफ्नो समर्थन गर्ने व्यक्तिलाई समाजसेवी र नेताको विशेषण जोडिदिने गर्दछन्, जस्तोसुकै चरित्रको व्यक्ति भएपनि । अमेरिकामा दिनको १२ घण्टा भन्दा बढी काम गरी जीविकोपार्जन गरेर बस्ने व्यक्तिहरु कस्तो किसिमका समाजसेवीमा पर्दछन् परिभाषा गर्न आफैमा मुश्किल छ ।

यस्ता व्यक्तिहरु नखोजेको बेला पनि सहयोगका लागि चोक, रेष्टुराँ, ट्रेन, समारोह आदि जताततै भेटिने हुँदा सोझा नेपालीहरु पहिलो जम्काभेटमै अमेरिकामा यिनीहरुको फेला पर्दछन् । अब त हुँदाहुँदा न्यूयोर्कको ज्याक्सनहाईट अनि रिजउडतिर मान्छेलाई हिंडदा राजविराजमा जाने मान्छेलाई भनेझैं- ‘त्यहाँ जाँदा बुढीऔंला लुकाएर हिंडनु है !’ भन्नुपर्ने भयो भनि मानिसहरु गुनासो गर्दछन् । अमेरिकाको अरु राज्यमा पनि यस्ता गुनासाहरु सुनिन्छ । अर्कोतर्फ अमेरिकाको व्यस्तताको समयमा पनि बचेको समयमा निःस्वार्थभावले समाजलाई सहयोग गर्ने व्यक्तिहरु भने समाजसेवी, नेता वा अगुवाको संज्ञा दिंदा असजिलो अनुभव गर्दछन् । कालीप्रसाद रिजालले कवितामा भनझैं- ‘मैले के नराम्रो काम गरेर मलाई नेता भनेको ?’

अमेरिका सपना र अवसरको देश हो । यहाँ आफ्नो भाग्य खोज्न र सुखी जीवन बिताउन संसारभरिका मानिसहरु आउँछन् । अमेरिकामा आएपछि उनीहरुलाई मानवीय सहाराको अन्त्यन्त आवश्कता परेको हुन्छ । सरकारले दिने सुविधाहरु पाउने बाटा र आधारहरु उनीहरुलाई थाहा हुँदैन । अनि उनीहरु आड र भरोसाको खोजीमा आफ्नै समुदायमा पुग्छन् । यसरी उनीहरु पुग्ने ठाउँमा भेट्ने गरेका मान्छेहरु प्रायः भरोसायोग्य हुँदैनन्, बोली र छापामा देखिएजस्तै । अनि ठगिन्छन् ।

ठगिने क्रममा यस्ता महानुभावबाट ठगिनेहरु प्रायः विश्वासले गर्दा ठगिने गरेको भन्छन् । यस्ता समाजसेवी, नेता र आफ्नैले कहिले काँही अमेरिकी अद्यागमन कानुनले दिंदै नदिएको सुविधा पनि दिलाई दिन्छौँ भनेर पैसा लिने गर्दछन् भने कहिलेकाँही अमेरिकी अद्यागमन कानुनले दिएको सुविधाहरु आफैंले लेखापढी गरेर सजिलै मिलाई दिने, नेपालबाट मान्छे झिकाईदिने जस्ता प्रलोभन दिने गर्दछन् । अमेरिकामा भरखरै आएका नेपालीहरु पहिले सम्पर्कमा आउने व्यक्तिहरु भनेका समाजसेवी, नेता, एजेण्ट र आफन्तहरु नै पर्दछन् । विशेष गरेर न्युयोर्कको क्वीन्स जस्तो नेपालीको घनाबस्ती भएको शहरमा च्याउझैं उम्रिएका कतिपय संस्थासँग प्रत्यक्ष वा परोक्षरुपबाट संलग्न रहेका नेता अनि पैसाको चलखेल गरेर नाम कमाएका समाजसेवी छन् । यस्ता व्यक्तिहरु विशेष गरेर ज्याक्सन हाइट, सन्नी साइड र नेपालीहरुको बाक्लो बसोबास रहेको क्वीन्स र ब्रुक्लीनका सार्वजनिक ठाउँमा भेटिन्छन् । अनि नयाँ आउने नेपालीले पनि नेपालीपन र आत्मीयता खोज्न त्यस्ता ठाउँहरुमा जाँदा अनधिकृत रुपबाट लेखापढीको काम गरिदिने समाजसेवी, विभिन्न पेशा चलाएर बसेका एजेण्टहरुलाई भेट्ने गर्दछन् । यस्ता व्यक्तिहरुले नवागन्तुकलाई अमेरिकामा बस्ने र काम गर्ने कागज भए नभएको कुरा बुझ्ने र नभएको भन्ने कुरा जानकारी पाएपछि कागज बनाई दिने प्रलोभन दिई पैसा ठग्ने गरेका घटनाहरु सुनिन्छ पीडितहरुबाट । यस्ता समाजसेवी, नेता, आफन्तहरुले वकिलको सहायता लिनुहोस् भन्ने सल्लाह प्रायः दिदैनन् । दिए भने पनि आफ्नो मिलेमतोमा रहेको वकिल कहाँ जाऊ भन्दछन्, आफ्नो अभिष्टका लागि ।

यद्यपि कतिपय नेपालीहरु वकिलबाटै पनि ठगिएको भन्ने आरोप पनि नसुनिएको होइन । वकिलले ठगेको भएमा वकिललाई कानुन बमोजिम कार्वाही गराउन सकिने धेरै बाटाहरु हुन्छन् भने लाइसेन्सविना कानुनी सुविधा दिने समाजसेवी, लेखनदासले पीडितलाई ढाल बनाएर तरवार चलाउने हुँदा अप्ठ्यारोमा पारेर आफू फाइदा मात्रैमा सहभागी हुन्छन् ।  जसले गर्दा त्यस्ता व्यक्तिहरु सजायको भागीदार नबन्ने र पीडित व्यक्तिले न्याय पाऊन सक्दैनन् ।

यसरी ठगिएका कुराहरु मैले पनि सुन्ने गरेको छु । हुनत ठगिने भनिएका व्यक्तिहरुले सँधैभरि सही कुरा भन्छन् भन्ने ग्यारेण्टी हुन्छ भन्न सकिदैन । त्यस मध्ये सुनेका र जानकारीमा आएका केही घटनाहरु उल्लेख गर्नु सान्दर्भिक ठान्दछु ।

१.  एकजना व्यक्तिले फोनमा भन्नु भो – तपाईं वकिल मात्र नभएर एउटा कवि हृदयको मानिस पनि भएको हुँदा मेरो कुरा सुनिदिनु हुन्छ कि भनेर फोन गरेको ! मैले वकिलकहाँ नगएर ठूलो गल्ती गरें, आफ्नो अद्यागमनको कामका लागि । पाँच मिनेट समय दिनु हुन्छ कि ?’

मैले उहाँलाई हुन्छ, के कुरा हो भन्नुहोस् भनें ।

उहाँले उताबाट भन्नुभो- ‘मलाई फलानो एजेन्सीवाला, ढिस्कानो नेता र चिल्कानो समाजसेवीले बर्बाद पारे हजुर ! म यिनीहरुलाई नेपालमा गए खुटृा भाँचिदिन्छु । मलाई बिगार्नेलाई म पनि छोड्दिन…।’

अनि मैले उहाँलाई भनें- ‘तपार्इं अमेरिकामा हुनुहुन्छ, तपाईंले भनेका मान्छे यहीं छन् अनि कसरी नेपालमा खुटृा भाँच्नु हुन्छ त ? तपाईको कुरा मैले अलि बुझिन नि ?’

कुरा प्रष्ट्याउँदै उहाँले भन्नुभो- ‘मेरो अद्यागमनको सुविधा पाउने कार्वाही यिनीहरुले तथानाम लेखी दिई प्रमाण जुटाई दिएको कारणले बिग्रियो । अब म यहाँ नबसेर नेपालै फर्कन्छु र यिनीहरु उता गए भने खुटृा भाँचिदिन्छु । आखिर यिनले मलाई विर्गानुहुन्छ भने मैले यिनका खुटृा भाँच्न किन नहुने ?’

मैले जवाफमा भनें- ‘कानुन हातमा लिने यस्तो काम गर्नु हुँदैन । बरु यहाँ नै तपाईले न्याय खोज्नु पर्दछ । सम्वन्धित निकायमा उजुर गर्नु भो भने निजहरु उपर कार्वाही हुन सक्दछ ।’

उहाँले भन्नुभो- ‘होइन म नेपालै फर्कन्छु ।’

फेरि मैले उहाँलाई भनें – ‘बरु फलाना फलाना पत्रिकामा फोन गरेर आफ्नो कुरा भन्नुहोस् ।’

यदि तपाईंको कुरा साँचो रहेछ भने उहाँहरुले आफ्नो पत्रिकामा छाप्नु हुन्छ भन्दै पत्रकार र पत्रिकाका जिम्मेवार व्यक्तिहरुको नाम र टेलिफोन नम्वर भन्न थालें । यदि यस्तो कुरा बाहिर आयो भने धेरै मान्छेहरुले त त्यस्ता व्यक्तिहरुको बारेमा थाहा पाउँछन र आइन्दा तपार्इंले जस्तै अरुले ठगिनु पर्दैन ।

मेरो जवाफ सुनेर उहाँ आक्रोशित हुँदै भन्न थाल्नु भो- यी पत्रकारहरु पनि उस्तै हुन्, हाम्रा कुरा छापेर यिनलाई के फाइदा हुन्छ र छाप्छन् ? आदि….। अनि मैले अधिकारकर्मी संस्थाको सम्पर्कमा जानुहोस् न त भन्दै फोन राखिदिएँ ।

२. त्यसैगरी अर्का एकजना मेरा पुराना क्लाइण्टले मलाई भेटेर गुनासो गरे ।

‘हजुर ! मेरै गाउँको चिनेको मान्छेलाई ज्याक्सन हाइटसमा एउटा मान्छेले कागज बनाइदिन्छु भनि १५०० डलर खाइदिएछ ।

अनि मैले सोधें- ‘कस्तो कागज बनाइदिन्छु भनेर त्यत्रो पैसा खाइदिएछ त ?’

‘खै तिमीलाई अमेरिकामा बस्न, काम गर्न र परिवार ल्याउनका लागि कागज बनाई दिन्छु भनेछ अनि उसले पनि कागज बन्ने भए हुन्छ भनेर पैसा दिएछ भन्नुभो ।’

मैले उहाँलाई सोधें- ‘अनि एकपटक वकिलसँग सल्लाह लिनु भन्नु भएन त ?’ जवाफमा उहाँले मलाई भन्नु भो ‘ ‘मैले त भरखर भेटें । अनि सोध्दा पो भन्यो त ।’

३. अर्को घटनाका एउटा पात्रको वकिल म आफैं रहेको थिएँ । निजले पनि समाजसेवी नेताबाटै आफ्नो शरणार्थीको निवेदनको सुरुवात गरेका थिए राम्रै रकम दिएर । एजाइलम अफिसबाट निजको निवेदन स्वीकृत नभएपछि अद्यागमन अदालतमा मुद्दा गयो । निजलाई समाजसेवीले नेपाली भन्दा विदेशी वकिल राम्रो हुन्छ त्यहाँ जानुहोस् भनेको रहेछ । तर निज संयोगले म कहाँ आइपुगे । मैले उनका कथा र प्रमाणहरु हेरें । त्यस्तो सत्यता र घटनाको बारेमा विस्तृत रुपबाट सोधखोज गरें । अनि त्यसलाई मैले आफ्नो बुझाइको आधारमा पुर्नलेखन गरेर नेपालीमा पढेर सुनाउँदा सत्य हो भनेको कुराहरु मात्र राखेर कथा तयार पारें । पेश गरिएका प्रमाणहरुको बारेमा सोधखोज गर्दा प्रमाणहरुको बारेमा आफुलाई जानकारी नभएको तर समाजसेवी, नेताले चाहिन्छ भनेको हुँदा प्रमाणमा पेश गरिएका हुन् भन्ने जवाफ पाएपछि मैले पक्षलाई भने यी प्रमाणहरुको विश्वसनियता मलाई नभएको हुँदा फिर्ता लिन्छु भन्ने व्यहोरा लेखी न्यायाधीशलाई सत्य कुरा भनियो भने राम्रो हुन्छ किनकि तपाईंका प्रमाणहरु बनावटी हुन भनि शंका गर्ने प्रयाप्त आधार छन् । पक्षले पनि मेरो सल्लाहमा सहमति जनाउनुभयो र त्यसै गरियो । यदि त्यसो नभनिएको भए तिनै कथित प्रमाणले निजलाई बनावटी प्रमाण राखी निवेदन दिएको ठहराई भविष्यमा कुनै सुविधा नपाउने गरी देश निष्कासनको आदेश हुने सम्भावना थियो ।

पक्षले आफुलाई भएको घटना विश्वसनीय रुपबाट बयानको क्रममा भन्नु भो । सरकारी वकिलले प्रमाणको विषयमा बहसको दौरानमा उप्काएको भएतापनि न्यायाधीशले उल्टै सरकारी वकिललाई भन्नुभो । यो प्रमाण अरुले दिएको र त्यस्को विश्वसनियतामा आफुलाई शंका लागेको भनि निवेदकले नै सुरुमै साँचो बोलेर ती प्रमाण फिर्ता लिन्छु भनि अनुसन्धान गर्दा लाग्ने सरकारको समय र खर्च जोगाएको अवस्थामा निवेदकलाई झूठो ठहराउन मिल्दैन । बरु घटनाको बारेमा विश्वसनीय रुपबाट आफ्नो कुरा भनेको हुँदा म निवेदकको निवेदन स्वीकृत गर्दछु भनि मुद्दा जिताईदिनु भो । सरकारले फैसलामा चित्त बुझायो ।

४. त्यस्तै अर्को मुद्दामा पनि मैले पक्षको माथि लेखिएझैं मुद्दालाई तयार पारें । र समाजसेवी नेताको सल्लाहले पेश गरिएका प्रमाणको विश्वसनीयताको बारेमा सोधें । पक्षले प्रमाणहरु साँचा हुन् भने । अनि मैले उनकै विश्वासमा ती प्रमाणहरु पेश गरे । तर पक्षलाई सुनुवाइका दिन सरकारी वकिल र न्यायाधीशले प्रमाणको बारेमा सोध्दा पाएको जवाफमा चित्त नबुझेपछि पक्षले आफैं प्रमाण फिर्ता लिई झूठो वा साँचो हो भन्ने जाँच गर्दा लाग्ने सरकारको समय र पैसाको बचत गरेमा फ्रडको चार्ज लगाएर फैसला नगर्ने यदि साँचो हो भनि अडिग भएपछि अनुसन्धानबाट प्रमाणहरु जालसाँजी ठहरे हदैसम्मको सजाय हुने गरी फैसला हुने भन्दै पक्षलाई पाँच मिनेटको समय दिइयो ।

मैले पक्षलाई बाहिर ल्याएर साँचो जे हो त्यो भन्नुहोस, यदि प्रमाणको बारेमा तपाईलाई शंका छ भने फिर्ता लिनु राम्रो हुन्छ भनें । तपाईको बयान राम्रै छ । जित्ने भए बयानबाटै पनि जितिन्छ,यदि हारियो र न्यायाधीशले जालसाँजी ठहर्याए भने पछिसम्म अप्ठ्यारो पर्छ भनें । उनले प्रमाण फिर्ता लिन्छु भने । न्यायाधिशलाई पेश गरिएको प्रमाण फिर्ता लिन्छु भनेपछि उहाँले पक्षलाई देश निष्कासनको फैसला गरे तर जालसाजी ठहर गरेनन् । यो मुद्दाको विरुद्धमा हामीले बिआइएमा पुनरावेदन गर्यौं र भन्यौँ कि पक्षले प्रमाण फिर्ता लिए पनि उनले यातना पाएका विषयमा कुरा पुगेकै थियो । त्यसैले हामीले त सरकारको समय र पैसा खर्च नहोस् भनेर प्रमाण फिर्ता लिएका हौं । किनकि शरणार्थीको निवेदन स्वीकृत वा अस्वीकृत हुने भन्ने कुरा पेश गरिएको प्रमाणमा होईन कि पीडितले लेखेको घटना विवरण, त्यसको विश्वसनीयता, लेखिएको र बोलिएको कुरामा एकरुपता, बयान दिंदाको अवस्थामा देखिएको अनुहारको भाव, अभिव्यक्तिको शैली, अनि यातना भएको छ कि छैन, यातना पाएको रहेछ भने त्यसको कारण र त्यो कारण जाति, धर्म, राष्ट्रियता, राजनीतिक विचाराधारा एवं कुनै समुहको सदस्य भएको कारणले हो कि होइन र पीडित आफ्नै देशको अर्को भुभागमा बसाई सर्दा सुरक्षित हुने अवस्था थियो कि थिएन आदि कुराहरु हुन् । नियमानुसार प्रमाणित भएर नआएका प्रमाण त व्यक्तिको बयानमा माथिका कुरा पुष्टि भएमात्र हेरिने र जाँचिने हो आदि..। पुनरावेदन अदालतले हामीले लिएको जिकिरको आधारमा न्यायाधीशको फैसला बदर गरी निर्णयार्थ निज न्यायाधिशलाई पुनः फिर्ता पठायो । फैसलामा स्पष्ट भनिएको थियो कि पीडितले आफ्नो बयानबाटै आफ्ना कुराहरु प्रमाणित गरिसकेको र सो बयानलाई अन्यथा हो भनि नभनिएको अवस्थामा प्रमाण फिर्ता लिएकोे आधारमा हराइएको मिलेन भन्ने जस्ता कुराहरु लेखिएका थिए । यो मुद्दा हामीले जित्न सफल भयौं र सरकारले अपिल गरेन ।

५. अर्का एजेण्टले शरणार्थीको निवेदन तयार पारी वकिलले लिने भन्दा पनि बढी दस्तुर लिएर अद्यागमन कार्यालय समक्ष पठाएछन् । व्यक्ति अन्तर्वार्तामा जाँदा उनलाई ‘एस’ र ‘नो’ कै सेरोफेरोमा अफिसरले प्रश्न सोधेछन् । र जवाफमा उनले फाराममा भरे बमोजिमकै उत्तर दिएछन् । उनको निवेदन स्वीकृत नगरी अदालतमा देश निष्कासनको आरोप लगाएर पठाइयो । मैले उहाँलाई फारामकै प्रश्न सोधें र त्यो प्रश्नको जवाफमा उहाँले ‘नो’ भन्नु भो । अनि मैले भने त्यसो भए तपाईंको निवेदन स्वीकृत गर्नुपर्ने कुनै कारण नै छैन । तर तपाईंको कथाले त यहाँ एस हुनुपर्ने होइन र ?

मेरो कुरा सुनेपछि उहाँले भन्नुभो – ‘हो, मलाई एजाइलम अफिसरले पनि यही प्रश्न तीन पटक सोधेका थिए तर मैले फाराममा लेखझैं ‘नो’ नै भनेको थिएँ । यो कुरा त यादै गरिएनछ।’

बेलैमा वकिल राखेको भए सायद मेरो मुद्दा स्वीकृत हुन्थ्यो कि ? उहाँले मेरो ‘फी’ सोध्नुभो । मेरो ‘फी’ सुनेर उहाँले भन्नुभोे, अदालतको फी त फलानाले यति मात्रै तिरेको छु भन्थ्यो त ? मैले भनें- ‘उहाँको मुद्दा मैले नै सुरुदेखि हेरेको हुँदा अदालतमा गएपछि त्यति लिएको हो ।’

अनि उहाँले भन्नुभो – ‘मैले त सुरुमा त्यो भन्दा बढी एजेण्टलाई तिरेको छु ।’

मैले भनें – ‘त्यो एजेण्टले तयार पारेको कागजतमा वकिल भर पर्दैनन् । अतः यी सबै कागजात तपाईंलाई सोधपुछ गरी पुनः सबै नयाँ रुपबाट तयार गरेर अदालतमा पेश गर्नुपर्दछ वकिलले । त्यसैले सुरुको पैसा पनि यसमा जोडिएको छ । सुरुदेखिकै काम वकिलबाट गराउनु भएको भए तपाईंले पनि अरुलेझैं अदालतमा गएको मात्र फी तिर्नुपर्ने थियो । त्यसपछि उहाँले भन्नुभो-‘ एजेण्टकहाँ गएर ठगिइएछ । के गर्नु यो कुरा पहिला थाहा पाइएन ।’

६. आफन्त समाजसेवी नेताजीले एकजना ग्रीनकार्ड भएका मित्रको अमेरिकी नागरिकताका लागि न्युतनम शुल्क लिई फाराम भरी अद्यागमन विभाग समक्ष पठाए । फाराममा ‘एस’ वा ‘नो’ को जवाफ दिए पुग्ने हुँदा यसमा वकिल राखे त्यो भन्दा बढी पैसा खर्च हुने तर्क दिएर । तर अन्र्तर्वातामा जाँदा व्यक्तिले ग्रीनकार्ड बदर र देश निष्कासनको पुर्जी लिएर फर्किए । अनि वकिलका शरणमा पुगे । उनी जति खर्च लागेपनि आफ्नो ‘स्टाटस’ जोगाएर अमेरिका बस्नका लागि खर्च गर्न तयार भएको बताए । तर, वकिलको हैसियतले प्रतिरक्षा गर्न विलम्व भैसकेको थियो । यदि फाराम भनुभन्दा अगाडि निजले सम्पर्क गरेका भए उनलाई यो समस्यामा नपर्ने सल्लाह वा उपाय बताउन सकिने सम्भावना थियो ।

अमेरिकी अद्यागमन कानुनले र समय समयमा राष्ट्रपतिको कार्यकारी आदेशबाट दिइने सुविधाको सही रुपबाट जानकारी नपाउँदा अनि त्यस्ता सुविधाहरु पाउने उपायहरु खोज्दा तथाकथित् समाजसेवी नेता, एजेण्ट अनि निहीत स्वार्थ बोकेका आफन्तहरुबाट आप्रवासीहरु अमेरिकामा ठगिने गर्दछन् । कतिपयले अमेरिकामा पाईरहेको सुविधा पनि गुमाउँछन् ।

अमेरिका सपना र अवसरको देश हो । यहाँ आफ्नो भाग्य खोज्न र सुखी जीवन बिताउन संसारभरिका मानिसहरु आउँछन् । कोही भीषा लिएर आउँछन् अनि कोही दलाललाई पैसा ख्वाई जंगल र मालसामान राख्ने कण्टेनरमा आफ्नो जीवनलाई धरापमा राखेर आउँछन् । अमेरिकामा आएपछि उनीहरुलाई मानवीय सहाराको अन्त्यन्त आवश्कता परेको हुन्छ । सरकारले दिने सुविधाहरु पाउने बाटा र आधारहरु उनीहरुलाई थाहा हुँदैन । अनि उनीहरु आड र भरोसाको खोजीमा आफ्नै समुदायमा पुग्छन् । यसरी उनीहरु पुग्ने ठाउँमा भेट्ने गरेका मान्छेहरु प्रायः भरोसायोग्य हुँदैनन्, बोली र छापामा देखिएजस्तै । अनि ठगिन्छन् ।

तसर्थ यस्तो अवस्थामा एनआरएन जस्ता संस्थाहरुले अमेरिकामा रहने नेपालीहरुलाई अद्यागमन कानुन र अन्य कानुनले दिएका संघीय र राज्यस्तरका सुविधाहरु के कसरी कानुन बमोजिम पाउन सकिन्छ भन्ने बारेमा जानकारी दिने, निःशुल्क रुपबाट सेवा प्रदान गर्ने निकायहरुको बारेमा जानकारी दिने र आफुले पनि त्यस्तो सेवा पुर्याउने अनि समुदायमा रहेका कथित समाजसेवी, नेता, एजेण्ट र आफन्तहरुबाट ठगिनबाट कसरी बच्ने, पीडित भएमा कहाँ उजुर गर्ने भनि समाजमा जनचेतना जगाउने कार्य गर्नु आवश्यक छ ।

(यो लेख एनआरएनएको स्मारिका २०१५ मा प्रकाशित भएको छ, विनोद रोका, न्यूयोर्क राज्यको उच्च न्यायालय, अपिलाट डिभिजनको दोश्रो न्याय विभागमा एटर्नी एट ल को रुपमा मान्यता प्राप्त वकिल र अमेरिकी ईमिग्रेशन बार एशोसियसन एवं न्यूयोर्क ईमिग्रेशन बार एशोसियसनका सदस्य हुनुहुन्छ । कुनै समस्या भए टेलिफोनमार्फत निःशुल्क कानुनी सल्लाहको लागि रोकालाई वहाँको कार्यालयको फोन ७१८ ६०६ ९७३३ वा  [email protected] र www.binodlaw.com मा सम्पर्क राख्न सक्नुहुनेछ ।)

प्रतिक्रिया