संविधान लेखन प्रक्रिया रोकिँदैन: सामान्य प्रशासन मन्त्री

इनेप्लिज २०७१ चैत १७ गते १०:४९ मा प्रकाशित

Lal-babu-300x300काठमाडौँ, १७ चैत । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले विपक्षीको आन्दोलनका दबाबमा संविधान लेखन प्रक्रिया नरोकिने बताउनुभएको छ ।

संवाद क्लबद्वारा आयोजित अन्तरक्रियामा उहाँले भन्नुभयो, “बन्दुक र धम्कीबाट संविधान निर्माणको प्रक्रिया रोकिँदैन । प्रक्रिया रोक्न खोज्नेलाई परास्त गरिने छ ।”
मन्त्री पण्डितले एकल जातीयताका आधारमा संविधान बनाउनु गलत हुने धारणा पनि राख्नुभयो ।

सत्ता तथा प्रतिपक्ष दुवैले आफ्नो अडान नत्यागेकाले गर्दा संविधानसभाले संविधान दिन नसकेको उल्लेख गर्दै उहाँले अब बस्ने संविधानसभाले संविधान दिएरै छाड्ने दृढता व्यक्त गर्नुभयो ।

एकीकृत नेकपा (माओवादी)का कोषाध्यक्ष हरिबोल गजुरेलले शान्ति सम्झौताका साझेदार दललाई संविधानसभाको अपनत्व नदिने हो भने संविधान बन्न नसक्ने बताउनुभयो ।

उहाँले संविधानसभाका अध्यक्षको भूमिका पार्टी कार्यकर्ताको जस्तो भएको आरोप लगाउनुभयो ।

तराई–मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादवले एकीकृत नेकपा (माओवादी)का नेतृत्वको ३० दलीय मोर्चाको आन्दोलन शान्तिपूर्ण हुने बताउनुभयो ।

प्रतिक्रिया