मंगलबार, मंसिर ९ २०७७
काठमाडौं १७:४०
वासिङटन डिसी 06:55

एएफसी च्याम्पियनसिप: नेपाल प्यालेस्टाइनसँग भिड्ने

इनेप्लिज २०७१ चैत १६ गते १४:२१ मा प्रकाशित

काठमाडौँ, १६ चैत । एसियाली फुटबल महासङ्घ (एएफसी) २३ वर्षमुनिका खेलाडी सम्मिलित एएफसी यु–२३ छनोट च्याम्पियनसिपअन्तर्गत नेपाली टोलीले आफ्नो अन्तिम खेलमा प्यालेस्टाइनको सामना गर्ने भएको छ ।

इरानको राजधानी तेहरानस्थित साहिद दास्टगेरडी रङ्गशालामा नेपालले मङ्गलबार दिउँसो ३ः१५ बजे प्रतिष्ठाका लागि प्यालेस्टाइनसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा नेपाल यसअघि नै समूह चरणबाट बाहिरिसकेको छ । जारी प्रतियोगितामा तीन खेल खेलेको नेपाल तीन खेलमा हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको हो ।

यसअघि भएका खेलमा नेपाल साउदी अरेबियासँग ६–०, आयोजक इरानसँग ५–० तथा अफगानिस्तानसँग २–० गोलअन्तरले पराजित भएको थियो । पाँच राष्ट्र सहभागी उक्त प्रतियोगितामा तीन खेल खेलेको इरान नौ अङ्कका साथ लिगको शीर्ष स्थानमा तथा साबिक उपविजेता साउदी अरेबिया सात अङ्कका साथ लिगको दोस्रो स्थानमा छन् ।

त्यस्तै अफगानिस्तान चार अङ्कका साथ तेस्रो तथा प्यालेस्टाइन तीन अङ्क जोड्दै लिगको अन्तिममा छन् । प्रतियोगितामा शीर्ष टोली अर्को वर्ष कतारमा हुने एएफसी च्याम्पियनसिपका लागि स्वतः छनोट हुने प्रावधान छ, भने उपविजेतामध्येबाट उत्कृष्ट घोषित हुने केही टोलीका लागि समेत सम्भावनाको ढोका खुला रहनेछ ।

मङ्गलबार नै आयोजक इरान र साउदी अरेबिया आमनेसामने हुनेछन्, जुन खेल दुवै टोलीका लागि निकै महत्वपूर्ण हुनेछ । प्रतियोगितामा जुन टोलीले विजय हासिल गर्नेछ त्यही टोली एएफसी च्याम्पियनसिपका लागि छनोट हुनेछ । यदि खेल बराबरीमा समाप्त भए आयोजक इरान प्रतियोगिताका लागि छनोट हुनेछ ।

प्रतिक्रिया