खोटाङ, १६ चैत । मोबाइल चार्ज गर्ने क्रममा विद्युत् प्रवाह भई खोटाङको महादेवस्थान–१ का ४६ वर्षीय भरत दाहालको ज्यान गएपछि उनको आफन्त र स्थानीयवासी आक्रोशित भएका छन् ।
घटनाका विषयमा तत्काल छानबिन समिति बनाउनुपर्ने, मृतक परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्नेलगायतका माग राख्दै मृतकका आफन्त र स्थानीयवासीले आफूहरुले राखेको माग पूरा नभएसम्म मृतकको शव नउठाउने बताएका छन् । विद्युत् प्राधिकरणको लापरवाहीका कारण बढी विद्युत् प्रवाह भएको र घटना भएको उनीहरुको आरोप छ ।
स्थानीय जनता आक्रोशित बनेपछि प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटा, प्रहरी नायब उपरीक्षक खरेल, नेपाल विद्युत् प्राधिकरण शाखा खोटाङका प्रमुख पुरुषोत्तम रेग्मी, पूर्वसभासद् रामकुमार राईलगायतका टोली घटनास्थलमा पुगेका छन् ।
गाईघाट–बुइपा ३३ केभी विद्युत् प्रसारण लाइनअन्तर्गत विस्तार गरिएको लाइनमा अचानक ११ हजार भोल्टको विद्युत् प्रवाह भएपछि दाहालको आइतबार साँझ ज्यान गएको स्थानीय टिवन राईले जानकारी दिनुभयो ।
यसअघि पनि विद्युत् प्रवाह भएर सोही गाउँकी एक महिलाको दुवै हात र एउटा खुट्टा गुमेको थियो ।
प्रतिक्रिया