तरकारी बेचेर १२ करोड आम्दानी

इनेप्लिज २०७१ चैत १६ गते १०:५५ मा प्रकाशित

tarkariगोरखा बजार, १६ चैत । व्यावसायिक तरकारीखेती गर्दै आएका गोरखाको घ्याल्चोकका किसानले यस वर्ष रु १२ करोड आम्दानी लिएका छन् ।

गाविसको नौ वडाका किसानले तरकारी बेचेरै वार्षिक यतिधेरै आम्दानी लिएका हुन् । रु १० करोडको तरकारी राजधानीमा मात्र खपत हुँदै आएको छ । गाविसको ५, ८ र ९ वडाका किसानले व्यावसायिक तरकारीखेतीलाई प्रमुख पेसाको रुपमा अङ्गाल्दै आएका छन् ।

“काठमाडौँका व्यापारीले मात्रै वार्षिक ३२ लाख किलो तरकारी लैजान्छन्” सामूहिक सहकारी तथा तरकारी सङ्कलन केन्द्रका व्यवस्थापक रमेश नेपालले भन्नुभयो, “व्यवसायी तरकारी लिन ट्रक लिएर गाउँमै आउने गरेका छन् ।”

घ्याल्चोकमा करिब ७०० जना व्यावसायिक किसान छन् । अर्काको जग्गा भाडामा लिएर समेत किसानले तरकारी फलाउँदै आएका छन् । बाह्रै महिना तरकारी उत्पादन हुँदै आएको घ्याल्चोकमा पछिल्लो समय विषादीरहित तरकारी उत्पादन हुन थालेको छ ।

“विषादीको प्रयोग न्यूनमात्रामा छ” उहाँले भन्नुभयो, “प्राङ्गारिक तरकारी उत्पादनमा किसान लागेका छन् ।” गाउँमा उत्पादन भएको तरकारी बजारसम्म पु¥याउन गाउँलेले कृषि सहकारी गठन गरेका छन् । जनकल्याण कृषि सहकारी, सामूहिक कृषि सहकारीलगायतका सहकारीको व्यवस्थापनमा किसानले तरकारी बजारमा बिक्रीका लागि पठाउँछन् ।

घ्याल्चोकमा उत्पादन भएको तरकारी काठमाडौँका साथै चितवन, पोखरा, तनहुँ र गोरखामा खपत हुँदै आएको छ । काउली, बन्दा, गाँजर, केराउ, मूला, भन्टा, बोडी, फर्सी, स्कुस, लसुन, प्याज, घिरौँला, चिचिन्डा, करेला, क्राँक्रा जातका तरकारी तथा फलफूल यहाँका किसानले उत्पादन गर्दै आएका छन् ।

“यस वर्ष रु ५० हजारको तरकारी बेचेँ” स्थानिय किसान चुडामणि रेग्मीले भन्नुभयो, “तरकारी बेचेरै वार्षिक रु १० लाख आम्दानी लिने किसान पनि यही छन् ।”

सिँचाइको समस्या समाधान गर्न सकेमा तरकारी उत्पादन बढ्ने र किसानको जीविकोपार्जनमा सुधार ल्याउन सकिने कृषि कार्यालयका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत तीर्थकुमार श्रेष्ठले बताउनुभयो ।

“कच्ची सडक भएकाले तरकारी ओसारपसारमा किसानलाई समस्या हुँदै आएको छ” उहाँले भन्नुभयो ।

प्रतिक्रिया