चैत २४ देखि देशैभर दुर्लभ एकसिङ्गे गैँडाको गणना

इनेप्लिज २०७१ चैत १६ गते ३:१७ मा प्रकाशित

Rhinoरत्ननगर (चितवन), १६ चैत । यही चैत २४ गतेदेखि नेपालमा दुर्लभ एवम् संरक्षित वन्यजन्तु एकसिङ्गे गैँडाको गणना हुने भएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका अनुसार आवश्यक तयारी भइरहेकाले चैतको २४ गतेबाट देशैभर एकैसाथ गैँडा गणना गर्न लागिएको हो । तथ्याङ्क अध्यावधि गर्दै संरक्षणका नयाँ रणनीति अवलम्बन गर्नका लागि गैँडा गणना गर्न लागिएको निकुञ्ज विभागका इकोलोजिस्ट गोपाल प्रकाश भट्टराईले बताउनुभयो ।

नेपालमा सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ एकसिङ्गे गैँडा रहेको छ । केन्द्रबाट २४ गते गणना हुने भएर जानकारी आएकाले तयारी थालिएको चितवन निकुञ्जका सहायक संरक्षण अधिकृत विष्णु थपलियाले जानकारी दिनुभयो ।

चितवन निकुञ्जमा गणनाका लागि ३० भन्दा बढी हात्ती परिचालन गरिने छ । वाइनाकुलर, क्यामेरा जिपिएस, रेडियो सेट लगायतका सामग्री चाहिने भएकाले तयारी जारी रहेको सहायक संरक्षण अधिकृत थपलियाले बताउनुभयो । विश्व वन्यजन्तु कोष र राष्ट्रिय प्रकृति संरक्षण कोषले गणनामा आर्थिक तथा प्राविधिक सहयोग गर्दैछ ।

नेपालमा चितवनसँगै बर्दिया राष्ट्रिय निकुञ्ज र सुक्लाफाँटा वन्यजन्तु आरक्षमा मात्रै गैँडा रहेको छ । नेपालमा सन् २०११ को तथ्याङ्कअनुसार ५३४ गैँडा रहेको छ । चितवन निकुञ्जमा मात्रै ५०३ गैँडा रहेको तथ्याङ्क छ । विभागका इकोलोजिस्ट भट्टराईले गैँडा गणनाका लागि एक महिना लाग्ने र करिब रु ८५ लाख खर्च हुने अनुमान रहेको बताउनुभयो ।

सन् २०११ देखि यो बीचमा गैँडा चोरीसिकार न्यून भएको र संरक्षणमा समेत सफलता मिलेकाले निकुञ्ज र आरक्षमा गैँडा बढेको अनुमान संरक्षणकर्मीले गरेका छन् । यसअघि, चितवनमा सन् २००५ मा ३७२, २००८ मा ४०८ र २०११ मा ५०३ गैँडा रहेको तथ्याङ्क छ । सन् २०११ र सन् २०१३ को ३६५ दिन गरी दुईपटक शून्य चोरीसिकार वर्ष मनाइएको थियो ।

प्रतिक्रिया